TodayPati

सोनमा गापाले ८ हजार पर्ने साइकल झण्डै १२ हजारको दरले खरिद गरी वितरण गरेको खुलासा

नितेश यादव–
जनकपुरधाम, असोज १७ गते ।

महोत्तरीको सोनमा गाउँपालिकाले साइकल खरिदमा लाखौं रकम बढी खर्च गरेको पाइएको छ ।

आर्थिक वर्ष ०७५÷०७६ मा गााउँपालिकाकाबाट खरिद भएको ३४ थान साइकलमा लाखौं रकम बढी खर्च भएको हो ।

Sponsored

महालेखा परीक्षकको ५८ औं प्रतिवेदन अनुसार उक्त ३४ वटा साइकलमा मात्र ४ लाख ३ हजार ४ सय १० रुपैयाँ खर्च भएको छ ।

बजारमा ५ देखि ८ हजारसम्ममा पाइने साइकल ११ हजार ८ सय ६५ रुपैयाँका दरले खरिद भएको प्रतिवेदनले जनाएको छ ।

आर्थिक नियमावली, २०६४ को नियम ४७ मा कार्यालयले खरिद गरी वा हस्तान्तरणबाट वा वस्तसगत सहायताबाट प्राप्त भएका मालसमान ७ दिनभित्र कार्यालयको जिन्सी खातामा आम्दानी बाँधी श्रेस्ता खडा गरी खाख्नुपर्ने व्यवस्था रहेको छ ।

Sponsored

यद्यपी पालिकाले यस वर्ष ९ हजार ५ सयका दरका ९२ वटा र १० हजार ५ सयका दरका ३४ वटा गरी १२६ वटा साइकल खरिद गरेको छ ।

उक्त साइकल १३ लाख ७१ हजार ८२० रुपैयाँमा सोझै बजार खरिद गरेकोमा जिन्सी खातामा दाखिला नगरेको र लेखापरीक्षण अवधिसम्म वितरण नगरी मौज्दाता राखेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाले सो साइकल विभिन्न विद्यालयका छात्राहरुलाई वितरण गरेको थियो ।

एक सय २० वटा ब्यागमा साढे तीन लाख खर्च

सोनमा गाउँपालिकाले ब्याग खरिदमा पनि आर्थिक अनियमितता गरेको पाइएको छ ।

आर्थिक वर्ष ०७५÷७६ मा गाउँपालिका कार्यालयले खरिद गरेको १ सय २० थान ब्यागमा झण्डै साढे तीन लाख रुपैयाँ खर्च गरेको खुलासा भएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार यादवले ०७६ असार ३१ गते २ हजार ८ सय ७० रुपैयाँका दरले खरिद गरेको १ सय २० थान झोला (ब्याग) खरिदमा ३ लाख ४४ हजार ४ सय रुपैयाँ खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

बजार भाउभन्दा तेब्बरमा खरिद गरेको सो झोला खरिदमा लाखौं रुपैयाँ अनियमितता भएको प्रतिवेदनले जनाएको छ ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *