धनुषाको ढल्केवरमा सुनचाँदी पसलमा दिनदहाडै चोरी, २ जना पक्राउ
नितेश यादव-
जनकपुरधाम, भदौ १९ गते ।
धनुषाको ढल्केवरस्थित दिनदहाडै ज्वेलर्सबाट चाँदीको गरगहना चोरी भएको छ । गहना चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका-८ का टक्कर बहादुर मगराति मगर र चोरी गरेको गहना किन्ने जिल्लाको मिथिला नगरपालिका-४ पुष्पवलपुरकी ३५ वर्षीया सुरेखा देवी यादव रहेका छन् ।
मिथिला नगरपालिका ६ ढल्केबरस्थित स्थानीय शिवजी साहको गणेशलक्ष्मी ज्वेलर्सबाट शुक्रबार बिहान ९ बजेको समयमा चाँदीको गरगहना चोरी भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । पक्राउ परेका मगरको साथबाट ७ तोला चाँदीको गहना बरामद भएको सुवेदीले बताए ।
त्यस्तै चोरी गरेको गहना खरिद गरेको आरोपमा सुरेखालाई समेत पक्राउ गरेको छ । उनले चोरी गर्ने मगरबाट ५ तोला चाँदीको गरगहना सुरेखाले खरिद गरेको कारण उनलाई पनि पक्राउ गरेको सुवेदीको भनाइ छ ।
सुवेदीका अनुसार पक्राउ परेका दुवैजनाको साथबाट जम्मा १२ तोला चाँदीको गरगहना बरामद भएको छ । पसल सञ्चालकको भनाइलाई उदृत गर्दै प्रहरी निरीक्षक सुवेदीले पसलबाट ४८ तोला चाँदी चोरी भएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
Sponsored
यता ज्वेलर्स सञ्चालक शिवजी साहले आफ्नो पसलबाट ६ सय ग्राम चाँदीको गहना चोरी भएको बताएका छन् ।