प्रदेश सरकारद्वारा महोत्तरीका २ पालिका र सेनालाई दमकल प्रदान
रञ्जन भण्डारी-
महोत्तरी, भदौ १९ गते ।
प्रदेश २ सरकारले महोत्तरीका दुई स्थानीय तहलाई र नेपाली सेनालाई दमकल प्रदान गरेको छ । रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका र नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टर बर्दिवासलाई एक–एकवटा गरी जम्मा तीनवटा दमकल उपलब्ध गराइएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयबाट उपलब्ध गराइएको दमकल मन्त्री भरतप्रसाद साहले नगरप्रमुख अशोककुमार मण्डल, गाउँपालिका उपाध्यक्ष नगिना देवी र नेपाली सेनाका मध्यपूर्वी पृतनाका प्रतिनिधलाई हस्तान्तरण गरेका हुन् ।
जिल्लामा जलेश्वर, गौशाला र बर्दिवासस्थित छिन्नमस्ता गणमा रहेका एक–एक थान दमकल आगलागी नियन्त्रणका लागि अपुग रहेको अवस्थामा प्रदेश सरकारले उपलब्ध गराएको बारुण यन्त्रले जिल्लामा आगलागीबाट हुने क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्तरीमा गत आर्थिक वर्षमा आगलागीबाट चार महिला र एक पुरुषको मृत्यु हुँदा १३ महिला, पाँच पुरुष र तीन बालबालिका घाइते भए । आगलागीबाट १८ घर पूर्ण रूपमा र २४ घर आंशिक रूपमा क्षति हुँदा करिब तीन करोड २९ लाख ८८ हजारको क्षति भएको थियो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराईले स्थानीय तहहरूले सडक थप फराकिलो बनाउन प्रयास गरे भित्री ग्रामीण बस्तीहरूमा समेत दमकलको सहज पहुँच हुने बताए ।
Sponsored