TodayPati

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाको चौथो साधारणसभा सम्पन्न, यी हुन् मुख्य उपलब्धिहरु !

नितेश यादव-
जनकपुरधाम, भदौ १२ गते ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाको चौथो साधारणसभा सम्पन्न भएको छ । जनकपुरमा शनिबार एक कार्यक्रमबीच केन्द्रले साधारणसभा सम्पन्न गरेको हो ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका अध्यक्ष कौशल्या कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण रहेकी थिइन् ।

Sponsored

विदेशमा अलपत्र परेका कामदारको उद्धार गर्ने, समस्या र ठगीमा परेकालाई न्याय दिलाउन, सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न, आप्रवासी कामदारको परिवारलाई स्वास्थ्य, शिक्षा, र रोजगारीको व्यवस्था गराउने र पटकपटक वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्ने यस संस्थाको मुख्य काम रहेको छ । विगत चार वर्षको कार्यकालमा हकहित संरक्षण संगठनले वैदेशिक रोजगारी गएका सयौं कामदारहरुको उद्धार गरेको केन्द्रले जनाएको छ ।

आप्रवासी केन्द्रले हासिल गरेका मुख्य उपलब्धिहरु :

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाले आफ्नो चार वर्षे कार्यकालमा विभिन्न उपलब्धिहरु हासिल गरेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका, शहीदनगर नगरपालिका र विदेह नगरपालिकामा आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा ल्याएको छ । स्थानीय सरकारहरुसँगको सम्झौतामा आप्रवासी सिलाई कटाई केन्द्र, आप्रवासी व्यूटी पार्लर सञ्चालनमा रहेको र युवाहरूलाई पलम्बरको तालिमसमेत प्रदान गरिएको छ ।

Sponsored

त्यस्तै वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारको तीनजना बच्चालाई कक्षा १० सम्म नि:शुल्क शिक्षाको व्यवस्था मिलाइएको छ भने  स्थानीय सरकारहरुले नीति तथा कार्यक्रमहरुमा वैदेशिक रोजगारलाई व्यवस्थित गर्न नीति तथा कार्यक्रम र बजेटमा विनियोजन गराउन भूमिका निर्वाह गरेको केन्द्रले जनाएको छ ।

महोत्तरीको औरही नगरपालिका ४ निवासी अनिल चौधरीलाई कतारमा गोली हानी मृत्युदण्डको सजाय दिएको अवस्थामा मृतकको गत वर्ष कोरोना महामारीको विषम परिस्थितिमा शव ल्याउन पहल गरेको केन्द्रकी अध्यक्ष कौशल्या कुशवाहाले जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्णले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँगको समन्वय सहकार्यको आवश्यकता रहेको बताएकी छन् । उनले आप्रवासी कामदारको हकहितको लागि जतिसुकै बेला लड्ने बताइन् ।

साधारणसभाको प्रमुख अतिथि राज्यमन्त्री कर्णले आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले गरेको कामको कार्यक्रममा प्रशंसा समेत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, संस्थाका अध्यक्ष कुशवाहा, संस्थापक सदस्यलगायत संगठनमा आवद्ध करिब ५० जना सदस्यको उपस्थिति रहेको थियो । साथै २१ सदस्यीय कार्यसमिति रहेको यस संस्थाका कार्य अवधि पुगिसकेकाले केही पदाधिकारी हेरफेर गरिएको छ । अबको नयाँ कार्यसमितिको अध्यक्ष दुखरण यादव चयन भएको छ ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *