जनकपुर : १५-१५ हजार रुपैयाँ नदिँदा २९ जना बिद्यार्थीको रिजल्ट ‘सी ग्रेड’ आएको आरोप
टुडेपाटी-
जनकपुरधाम, साउन २५ गते ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंक बढाउनका लागि बिद्यार्थीले पैसा नदिँदा जनकपुरधामका एक निजी विद्यालयले मूल्यांकन कमजोर पठाएर विद्यार्थीहरुको भविष्यसँग खेलवाड गरेको आरोप लागेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोकस्थित युनाइटेड एकेडमी विद्यालयले एसईई परीक्षामा राम्रो मूल्यांकन पठाउनका लागि १५ हजार रुपैयाँ मागेको आरोप लागेको छ ।
बिद्यार्थीहरुले त्यो पैसा नदिँदा करिव २९ जना बिद्यार्थीको मूल्यांकन कमजोर पठाई सबै बिद्यार्थीको उच्च शिक्षाको सपनामाथि तुषारापात गरेको आरोप लागेको हो ।
भर्खरै सार्वजनिक भएको एसईईको रिजल्टमा सो विद्यालयबाट एसईईका लागि फारम भरेका सबै बिद्यार्थीको ग्रेड ‘सी प्लस’ आएको र विज्ञान लगायतका विषय पढनबाट वञ्चित गरी विद्यालयले भविष्यसँग खेलवाड गरेको बिद्यार्थीहरुले आरोप लगाएका छन् ।
बिद्यार्थीहरुले सोमबार कमजोर मुल्यांकन गरेको विरोधमा विद्यालय घेराउ गरी मुलगेटमा ताला समेत लगाएका छन् ।
Sponsored
उनीहरुका अनुसार मुल्यांकन भन्दा पहिले बिद्यार्थी, बिद्यार्थीको अभिभावक र शिक्षकहरुको बिच बसेको बैठकमा विद्यालयका प्रिन्सिपल कुशे यादवले बिद्यार्थीहरुको मूल्यांकन बढाएर उच्च ग्रेड ल्याउनका लागि प्रति बिद्यार्थी १५ हजार रुपैयाँ माग गरेका थिए ।
तर अभिभावकहरुले आफूहरुले बिद्यार्थीको विभिन्न शुल्कहरु तिर्दै आएकोले प्रिन्सिपल यादवले माग गरेको पैसा दिनबाट अस्वीकार गरेका थिए । यता रिजल्ट सार्वजनिक भएपछि सो विद्यालयका २९ जना बिद्यार्थीको रिजल्ट कमजोर आएको र यसबाट उच्च शिक्षामा विज्ञान विषय पढनबाट वञ्चित भई भविष्य नै अन्धकार भएको भन्दै विद्यालय विरुद्ध अदालत जाने उनीहरुले चेतावनी समेत दिएका छन् ।
सो विद्यालयसँग १० कक्षा पढाउनका लागि अनुमतिसमेत नरहेको बताइएको छ । विद्यालयले धनुषाको कटरैतस्थित सामुदायिक विद्यालयबाट बिद्यार्थीसँग परीक्षा दिन लगाएका थिए ।
यस सम्बन्धमा विद्यालयका प्रधानाध्यापक कुशे यादवले आफूमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् । उनले आफूले कुनै बिद्यार्थीसँग एसईईमा अंक बढाउनका लागि पैसा माग नगरेको दाबी गरेका छन् ।
यसअघि हिजो मात्रै धनुषाको विदेह नगरपालिका वडा नम्बर–१ ठाढीस्थित मावि ठाढीका प्रधानाध्यापक उमेश पाण्डेले एसईई दिने बिद्यार्थीसँग आन्तरिक मुल्यांकनमा अधिक नम्बर दिने प्रतिबद्धता जनाउँदै प्रति बिद्यार्थी ६ हजार रुपैयाँ लिएको आरोप लागेको थियो । पछि रिजल्ट प्रकाशित हुँदा कम ग्रेड आएको भन्दै बिद्यार्थीहरुले उनको घर समेत घेराउ गरेका थिए ।
२०७७ सालको एसईई परीक्षाका लागि कोरोनाको कारण देखाउँदै सरकारले आन्तरिक मुल्यांकन गरी नम्बर पठाउन निर्देशन दिएपछि अधिकांश विद्यालयले आर्थिक चलखेल गरी नम्बर दिएको आरोप छ ।
कारोनाको महामारी भन्दै सरकारले भौतिक रुपमा परीक्षार्थीहरुलाई उपस्थित गराउने अवस्था नरहेकोले विद्यालयहरुलाई आन्तरिक मुल्यांकन गरी अंक पठाउन पत्राचार गरेको थियो ।