TodayPati

प्रदेश २ मा चरम लापरबाही, कोरोना संक्रमण शंकास्पद विरामीलाई अस्पतालबाट फर्काइदै


शैलेन्द्र क्रान्ति –
जनकपुरधाम, चैत १३ गते ।

करिब एक साता अघि दुबईबाट फर्केका सिरहाको औरही गाउँपालिकाका ४० वर्षीय पुरुषलाई मंगलबार अचानक ज्वरो आयो ।

कोरोना संक्रमणको आशंकामा उपचार गराउन भन्दै उनलाई धनुषाको रमदैया स्थित जानकी मेडिकल शिक्षण अस्पताल लगियो ।

Sponsored

कोरोना संक्रमित तथा शंकास्पद बिरामीलाई राखेर उपचार गर्न प्रदेश २ स्वास्थ्य निर्देशनालयले ४० बेडको आइसोलेशन वार्ड स्थापना गरेको छ । तर त्यहाँ पुग्दा ती बिरामीलाई अस्पतालले उपचारको व्यवस्था नरहेको भन्दै त्यहाँको प्रशासनले एम्बुलेन्सबाट ओर्लिन समेत दिइएन ।

केहीबेर उनी त्यहीँ पर्खिबसे। पछि अस्पताल प्रशासनले ती बिरामीलाई प्रादेशिक अस्पताल जनकपुर पठाए ।

प्रादेशिक अस्पताल जनकपुरमा पनि कोरोना भाइरस संक्रमित तथा शंकास्पद बिरामीलाई उपचार गर्न पाँच बेडको आइसोलेशन वार्ड तयार गरिएको छ ।

Sponsored

दिउँसो ३ बजे ती बिरामी प्रादेशिक अस्पताल पुगे। कोरोना भाइरस संक्रमणको आशंका रहेको सुनाएपछि अस्प्तालका चिकित्सकले त्यहाँ पनि उनलाई एम्बुलेन्सबाट ओर्लिन दिएनन् ।

एम्बुलेन्समा राखिएको ती बिरामी झन् त्रसित र हतास भए । अस्पतालको इमरेजन्सी वार्डका इन्चार्ज रामगोपाल साहले यहाँ कोरोना उपचारको लागि औषधि उपचार र उपकरणसहितको व्यवस्था नभएकाले काठमाडौंस्थित टेकु अस्पताल रेफर गरेको बताए ।

तर अहिले ती बिरामी कहाँ, कुन अवस्थामा छन्? उनको चेकजाँच रिपोर्ट कस्तो छ? कुनै अत्तोपत्तो छैन ।

प्रादेशिक अस्पताल जनकपुरले ती बिरामीको नाम, ठेगाना र तीनका आफन्तका नाम, नम्बर समेत राखेनन। ती बिरामीको अवस्था र कहाँ उपचारमा छन् भन्ने प्रदेशका कुनै निकायलाई थाहा छैन ।

बुधबार साँझ ७ बजे कोरोनाको संक्रमित भन्दै एम्बुलेन्समा राखेर अर्का एक बिरामीलाई जनकपुरको ब्रहम्पुरी स्थित जानकी मेडिकल शिक्षण अस्पतालको सीटी हस्पिटल ल्याइयो ।

अस्पताललाई ती व्यक्ति कोरोनाबाट सिकिस्त भएको बताइयो। प्रदेश सरकारले कोरोना संक्रमित बिरामीलाई मात्र उपचार गर्ने भन्दै सिटी अस्पताल तयार गरी राख्ने निर्णय गरेपछि उनलाई त्यहाँ ल्याइएको थियो ।

Janaki Medical

कोेरोना संक्रमित भनिएका ती बिरामीलाई काठमाडौंबाट ल्याइएको एम्बुलेन्स चालकले जनाएको हस्पिटलका इमरजेन्सी कक्षका एक चिकित्सकले बताए ।

‘राति साढे ८ बजेसम्म एम्बुलेन्स हस्पिटलकै हाताभित्र थियो। एम्बुलेन्स चालकले भन्दै थिए बिरामी कोरोना संक्रमित र सिकिस्त छन। काठमाडौंबाट ल्याएका छौं’ इमरजेन्सी वार्डका ती चिकित्सकले भने ।

प्रदेश सरकारले सिटी हस्पिटलमा कोरोना संक्रमितलाई उपचार गर्न आइसोलेशन वार्ड व्यवस्थापन गरेको भनेर भ्रम मात्र फैलाएको उनले बताए ।

‘यहाँ कुनै व्यवस्थापन गरेको छैन। औषधि उपचारको कुनै सुविधा छैन । त्यसैले ती बिरामीलाई हामी बाहिर पठाइदियौं,’ उनले थपे। पछि ती बिरामीलाई यहाँ राख्न नसकिने भन्दै अस्पतालले पठाइदिए । तर उनी कहाँबाट आएको को व्यक्ति र कस्तो अवस्थामा रहेको कुनै जानकारी नरहेको ती चिकित्सकले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ अधिकृत विजय झाले कोरोना संक्रमित तथा शंकास्पद बिरामीलाई सिटी हस्पिटलमा २० बेडको आइसोलेशन वार्ड तयार गरिएको र उपचारको लगि व्यवस्थापन पनि त्यहि गर्ने प्रदेश सरकारले निर्णय गरिसकेको दावी गरे ।

तर एम्बुलेन्सबाट बिरामीलाई नत जानकी मेडिकल शिक्षण अस्पताल रमदैयामा भर्ना लिइएको छ नत त्यसको शाखा हस्पिटलको रुपमा रहेको जनकपुर स्थित सिटी हस्पिटलमा। त्यहाँ कोरोनाको आशंकामा आएका बिरामीलाई एम्बुलेन्सबाट ओर्लनसमेत नदिइएको पीडितहरुको गुनासो छ ।

प्रादेशिक अस्पताल जनकपुरमा पनि कोरोनाको शंकास्पद बिरामीलाई राख्ने र उपचारको कुनै व्यवस्थापन नभएको अस्पताल प्रमुख डा. नागेन्द्र यादवले बताए ।

Emergency Province2

उनका अनुसार प्रादेशिक अस्प्ताल जनकपुरमा पाँचवटा आइसोलेशन वार्डको व्यवस्था गरिएको छ । कोरोना संक्रमित तथा शंकास्पद बिरामीलाई उपचार गर्न सरकारले पाँचवटा पीपीई ड्रेस र दुईवटा थर्मल गन उपलब्ध गराएको उनले बताए ।

तर केही शंकास्पद बिरामी आएपछि चेकजाँच र उपचारको क्रममा पाँचवटै पीपीई प्रयोग भइसकेको उनको भनाइ छ ।

‘त्यसलाई दोहर्याएर प्रयोग गर्न मिल्दैन। यहाँ कोरोना संक्रमित शंकास्पद बिरामीलाई चेकजाँच गर्ने किट, उपचार गर्ने उपकरण छैन । त्यस्तो बिरामीलाई यहाँ राखेर के गर्ने?’ अस्पताल प्रमुख डा. यादवले भने

प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ अधिकृत विजय झाले प्रदेश सरकार कोरोना संक्रमित बिरामीलाई उपचार गर्न व्यवस्थापन गरिरहेको दावी गरे । कोरोनाको औषधि उपकरण खरिद गर्ने प्रक्रियामा प्रदेश सरकार रहेको उनले बताए । तर कोरोनाको शंकास्पद बिरामी आएकालाइ समेत आइसोलेशन वार्ड भएको अस्पतालमा समेत ओर्लिन नदिनुले प्रदेश २ सरकारको व्यवस्थापन कति फितलो छ भन्ने प्रष्ट हुन्छ ।

कोरोना संक्रमणको शंकास्पद बिरामीको कुनै तथ्यांक प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारसंग छैन । आएका शंकास्पद बिरामीलाई उचित ठाउँमा व्यवस्थापन गरेर उपचार गर्नु अथवा कुनै ठाउँमा पठाउँदा तिनीहरुको कुनै सम्पर्क र जानकरी राखिएको छैन ।

शंकास्पद बिरामीप्रति किन गम्भीरता देखाइएको छैन । बाहिर पठाएका बिरामीको सम्पर्क र जानकारी किन लिनु भएन भन्ने प्रश्नको जिज्ञासामा निर्देशनालयका बरिष्ठ अधिकृत झा भन्छन् ‘हामी तयारीमा छौं । अस्पतालहरुले हामीलाई जानकारी दिएन। हामी यसप्रति गम्भीर भएर आजै छलफल गर्छाै ।’

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

One thought on “प्रदेश २ मा चरम लापरबाही, कोरोना संक्रमण शंकास्पद विरामीलाई अस्पतालबाट फर्काइदै

  • March 26, 2020 at 3:35 pm
    Permalink

    साला पागलहरुको बसोबास रैछ मधेशमा।
    मधेसीबाट कर मत्रै लिने रहेछन मुजिहरुले।
    खातेहरु मधेसीलाई बिदेश खटायेर कर लिने र रोग मात्रै पाईयो।
    उपचार चै नगरा मुजिहरु सब कोरोनाको सिकार भयेर मर्छस।
    इटली को हाल होला बिचार गर।

    सभ्य भाषाको लायक छैन यो देश र सरकार माफ गर्नुहोला।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *