कोरोनाको प्रभाव : कोसोभोको सरकार ढल्यो
एजेन्सी
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न नसकेको भन्दै कोसोभोका प्रधानमन्त्री आल्बिन कुर्तीविरुद्धको विपक्षीले ल्याएको अविश्वास प्रस्ताव बहुमतले पारित भएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै यो मुलुकमा सरकार गिरेको छ । गठबन्धन सरकारको कनिष्ठ साझेदारले कोरोनाभाइरसको सामना गर्न कुर्तीले अपनाएको रवैयाप्रति असन्तुष्टि जनाउँदै अविश्वासको प्रस्ताव ल्याइएको थियो ।
नयाँ सरकार गठन भएको जम्मा दुई महिनामा यस्तो घटनाक्रम विकसित भएको हो ।
राजनीतिक गतिरोध कसरी समाप्त हुन्छ भन्ने विषयमा अन्योल छ किनकि महाव्याधिका कारण निर्वाचन गर्न पनि सम्भव छैन ।
स्पष्ट दिशानिर्देशको अभावमा कोरोनाको कहरले कोसोभोको स्वास्थ्य प्रणाली धराशायी हुने चेतावनी चिकित्सकहरूले दिएका छन् ।
कोसोभोमा कोरोनाका ७० वटा केस पुष्टि भइसकेका छन् र एकजनाको मृत्यु भएको छ ।
राजनीतिक संकट आएपछि नागरिकहरू आक्रोशित बनेको बताइएको छ । सरकारले कोरोना फैलिनबाट रोक्नका लागि उपाय अपनाउनुपर्नेमा राजनीतिक संकट आएपछि उनीहरू आक्रोशित बनेका हुन् ।
लगभग १२ घन्टासम्म सदनमा बहस चलेपछि १२० सदस्यीय प्रतिनिधिसभामा ८० जना सांसदले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
Sponsored