सिरहा व्यवसायीमाथि गोलीकाण्ड : सम्पत्तिको लागि भाइबाटै हत्या प्रयास, ३ अभियुक्त सार्वजनिक
विनय यादव-
सिरहा, जेठ ३१ गते ।
सिरहा मिर्चैयाका औषधि व्यवसायीमाथि गोली प्रहार घटनामा संलग्न तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
गत २२ जेठमा साँझ पसलमै बसिरहेका मिर्चैया नगरपालिका ६ स्थित सिद्धी मेडिकोका सञ्चालक स्थानीय वर्ष ४० का रामसागर साफीमाथि गोली प्रहार भएको थियो । प्रहरीले झण्डै १० दिनपछि घटनामा संलग्न तीन अभियुक्तलाई सार्वजनिक गरेको हो ।
सार्वजनिक हुनेमा मिर्चैया ६ कै ४२ वर्षीय सूर्यदेव साफी, उनका छोरा २३ वर्षीय रोहित साफी र गोलबजार ११ का ४५ वर्षीय मो. हकिम फकिर रहेका छन् । सूर्यदेव रामसागरका आफ्नै सहोदर दाइ हुन् ।
सूर्यदेवले पारिवारिक रिसइवी र सम्पत्ति विवादका कारण आपराधिक समूहलाई रकम दिई रामसागरमाथि गोली प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाका अभियुक्तहरूले संलग्नता स्वीकार गरिसकेको सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी शालिग्राम शर्माले बताए ।
Sponsored
घटनामा संलग्न साफी परिवारकै दुई जना र आपराधिक समूहका एक जना गरी तीन जना पक्रउ परेको र आपराधिक समूहका अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई सिरहा जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जनाए ।
उनीहरूमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ । मास्क लगाएर समूहमा आएका उनीहरूले दुई राउण्ड गोली चलाउँदा रामसागरको बाँया खुट्टाको तिघ्रा र बाँया हातको कुहिनामा गोली लागेको थियो ।