TodayPati

घुस काण्डमा मुछिएका बटेश्वर गापा अध्यक्ष राउत सफाइ पाएको छैन : अख्तियार

टुडेपाटी-
जनकपुरधाम, जेठ ३१ गते ।

८ लाख घुस काण्डमा मुछिएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत अहिलेसम्म सफाई नपाएको खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पछ्याउँदा ८ लाख घुस फालेर गएको फागुन १७ गते फरार भएका धनुषाको बटेश्वर गाउँपालका अध्यक्ष तीनमहिनापछि कार्यालयमा आइतबार हाजिर भएका छन् ।

Sponsored

उनले आफु अख्दिायर बाट सफाई पत्र लिएर आएको डंका पिटिरहेका छन् । तर अख्तियारले भने उनी धरौटी बुझाए र जमानतमा मात्र रिहा भएको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धन आयोगका प्रवक्ता वेद प्रसाद भण्डारीले अध्यक्ष राउतले अहिले उन्मुक्ति नपाएको र अनुसन्धानकै क्रममा रहेको बताएका छन् । न्युज २४ टिभीको एक कार्यक्रममा प्रवक्ता भण्डारीले भने ‘उहाँलाई हामी अहिले धरौटी राखेर जमानतमा मात्रै छाडिएको छ । यो मुद्दा अहिलेसम्म अख्तियारमा अनुसन्धानकै क्रममा छ । उहाँमाथि अदालतमा पनि मागदावीसहित मुद्दा पनि दर्ता गर्न सकिएको छैन । त्यसैले अख्तियारले उन्मुक्ति दिएको भन्न सकिँदैन ।’

प्रवक्ता भण्डारीका अनुसार सर्वोच्च अदालतले वैशाख ८ गते स्टिंग अपरेशनको प्रमाण अस्वीकार गर्ने आदेशपछि अध्यक्ष राउतको मुद्दा अख्तियारमा अनुसन्धानकै क्रममा छ । अख्तियारको एस्टिंग अपरेशनमा घुस रकम फेला परेपनि अध्यक्ष राउत भने फरार भएको र पछि अख्तियारमा हाजिर भएर धरौटी राखेर जमानतमा छाडिएको र अनुसन्धानकै क्रममा रहेको प्रवक्ता भण्डारीको भनाइ छ ।

Sponsored

अख्तियारबाट सफाइ पाएर आएको भन्दै आइतबार बटेश्वर गाउँपालिका कार्यालयमा नेकपा एमाले नेता कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारी र उनका समर्थकहरुले फुल माला लगाएर भव्य स्वागत गरेका थिए ।

गएको फागुन १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलिले धनुषाको सखुवा महेन्द्रनगरबाट पछ्याएपछि गाउँपालिका अध्यक्ष राउत ८ लाख घुस रकम फालेर भागेका थिए।

गाउँपालिकाको गाडीसहित चालक वीरबहादुर मगरलाई अख्तियारले नियन्त्रणमा लिएको थियो भने उनले फालेर भागेको ८ लाख रुपैयाँ घुस सुक्जोर खोलाको किनारबाट बरामद गरेको थियो।

चालकलाई फेरि हाजिर हुने सर्तमा छाडिएको थियो। गाउँपालिका अध्यक्षले कार्यालयको भवन निर्माण योजनाको भुक्तानीको लागि ठेकेदारबाट ८ लाख रुपैयाँ घुस लिएका थिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *