धनुषाको औरही खोलाबाट टिपर र जेसीबी प्रहरी नियन्त्रणमा, गाडी सञ्चालक फरार
टुडेपाटी-
जनकपुरधाम, जेठ ३१ गते ।
धनुषाको औरही खोलाबाट टिपर र जेसिबी प्रहरीले नियन्त्रणमा लिएको छ ।
राति–राति अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरीले औरही खोलाबाट आइतबार राति १ बजेको समयमा जेसिबी र टिपर नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ना ७ ख १६७३ नम्बरको १ वटा जेसिबी र ज १ त ६२१ नम्बर १ वटा टिपर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।
अबेर राति सम्म खोला उत्खनन् भइरहेको सूचना स्थानीयले प्रहरीलाई दिए लगत्तै प्रहरीको सुरक्षाटोली उत्खनन्स्थलमा पुगेको थियो ।
खोला ठेक्कै नलागेको अवस्थामा अन्धाधुन्ध नदीजन्य पदार्थ झिकिरहेको भेटिएपछि स्थानीयको सहयोगमा प्रहरीले घेरा हाली सवारीसाधन नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुनारले बताए ।
Sponsored
स्थानीयबासी र प्रहरीले अवैध उत्खननमा प्रयोग भइरहेको साधन नियन्त्रमा लिने प्रयास गरेपछि जेसिबी र टिपरका चालक तथा सञ्चालक गाडी छोडेर भागेका थिए । तस्कर माफियाले खाली रहेको दुर्इवटा टिपर समेत त्यहाँबाट भागेको स्थानीयबासी मनोज महतोले बताए ।
प्रहरीले नियन्त्रमा लिइएको जेसिबी र टिपर सोही खोला नजिक कमलदेव यादव र रामकुमार महतोले संचालन गरेको वनदेवी बालुवा प्रशोधन उद्योगको रहेको बुझिएको छ ।
औरही खोलाबाट विभिन्न क्रसर व्यवसायीले निषेधाज्ञाको अवज्ञा गर्दै अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै आएका हुन् । अवैध रुपमा खोला उत्खनन गरिरहेका साधनले १५ मिटरसम्म गहिरो बनाइ औरही खोला किनारमा संचालनमा रहेको आधा दर्जन क्रसरमा लग्ने गरेको स्थानीय बताउँछन् ।
पछिल्लोसमय धनुषाको औरही, जलाद, बडहरी, सुखजोर, रातु, जगधर र कमला नदीबाट अन्धाधुन्ध रुपमा गिट्टी बालुवा झिक्ने काम हुँदै आएको छ ।