खेतको विवादमा राजोदेवी माथि निर्घात कुटपिट, पीडकलाई समात्न प्रहरीले चासो देखाएन
टुडेपाटी–
जनकपुरधाम , जेठ ३१ गते ।
धनुषामा एक महिलालाई खेतको विषयमा विवाद हुँदा मरणासन्न हुने गरी कुटपिट गरिएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी उनको जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचार भइरहेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर-४ लक्ष्मिपुर निवासी ५५ वर्षीया राजोदेवी यादवलाई स्थानीय महावीर यादव र उनका भाइ दिनेश यादवले गत बिहीबार बिहान करिब ९ बजे निर्घात कुटपिट गरी अचेत अवस्थामा खेतमै छाडेर भागेको पीडितले बताइन् ।
उनले भनिन् , ‘म सो दिन बिहान आफ्नो खेतमा काम गरिरहेको थिएँ । त्यतिकैमा दिनेशले मेरो अन्नबालीमा ट्रयाक्टर गुडाईरहेको देखेँ । मेरो खेतमा किन ट्रयाक्टर चलाईस भनेर सोध्न जाँदा उल्टै दुबै दाजुभाइ मिलेर मलाई मरणासन्न हुनेगरी कुटपिट गरे ।कुटपिट गरेर मलाई खेतमै अचेत अवस्थामा छाडेर उनीहरु फरार भईहाले ।’
पीडितले घटनाबारे धनुषाधाम प्रहरी चौकीलाई खबर गरेपनि पीडकलाई कारबाही गर्न प्रहरीले बेवास्ता गरेको छ ।
Sponsored
घटनापछि राजोदेवीलाई स्थानीयको सहयोगमा धनुषाधामस्थित पपुलर हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ उनको उपचार सम्भव नभएपछि अहिले उनलाई जनकपुरधाम ल्याइएको छ । उनको शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताए ।
राजोदेवीको श्रीमानको मृत्यु भईसकेको र दुईजना छोराहरु वैदेशिक रोजगारमा रहेकोले मौकाछोपी उनीमाथि सांघातिक आक्रमण गरिएको स्थानीयले बताएका छन् ।