सप्तरीमा हत्याका आरोपी सात वर्षपछि पक्राउ
शुभ नारायण यादव-
सप्तरी, जेठ ३० गते ।
सप्तरीमा लुटपाट गरी एक दम्पतिको हत्या गरेर फरार रहेका प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.–१ का ३४ वर्षीय बब्लु मण्डल रहेका छन् ।
मण्डलले २०७१ साल जेठ २१ गते राति तत्कालिन हनुमाननगर गाविस–५ का ५५ वर्षीय प्रेम सुख बेगवानी र उहाँकी पत्नी ५२ वर्षीया सरोज बेगवानीको पसलमा लुटपाट गरेर हत्या गरेका थिए । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मण्डललाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो ।
उहाँका अनुसार बेगवानी दमपतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो भने नगद र सुनचाँदीका गरगहनाहरु लगायत ५० लाख रुपैयाँ बराबरको लुटपाट गरिएको थियो ।
यसेबिच घटनाको अनुसन्धानको क्रममा सो बेला प्रहरीले ८ जना प्रतिवादीहरुमध्ये ६ जनालाई पक्राउ गरेको थियो भने अन्य दुई जना फरार थिए ।यता पक्राउ परेका मण्डललाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको जनाएको छ ।
Sponsored