TodayPati

रामजानकी अस्पतालको ब्रह्मलुट : एक दिनको आईसीयू बेडचार्ज ५५ हजार असुल्दै

रोहित महतो-
जनकपुरधाम, जेठ १७ गते ।

सिरहामा आईसीयू बेड नपाएर ९ जेठमा मिर्चैया नगरपालिका– १ का ७८ वर्षीय पूर्णमान श्रेष्ठलाई उपचारका लागि जनकपुर ल्याइयो ।

सास फेर्न अप्ठयारो भएपछि परिवार तथा आफन्तले उनलाई एम्बुलेन्स ड्राइभरको सल्लाहमा जनकपुरस्थित रामजानकी अस्पतालमा उपचार गर्न ल्याएका थिए । लगातार एक साता ब्लडप्रेसरको औषधि खान छोडेपछि उनलाई कमजोरी महसुस हुनुका साथै सास फेर्न पनि समस्या भएको थियो । अस्पताल पुग्दा डाक्टरले उनलाई तत्काल आईसीयूमा भर्ना गर्नुपर्ने बताए । तर आईसीयू बेडको शुल्क सुनेर श्रेष्ठका परिवार चकित भए ।

Sponsored

अस्पतालले जनरल आईसीयू बेडको दिनको ४५ हजार र भेन्टिलेटरसहितको आईसीयूमा उपचारबापत दिनको ५५ हजार रुपैयाँ तिर्नुपर्ने पूर्णमानका आफन्तलाई सुनायो । जति हारगुहार गरे पनि त्योभन्दा कम शुल्कमा उपचारै नगर्ने अस्पतालले अड्डी कस्यो । ‘कोरोनाको समयमा तपाईँले बेड पाउनु नै सबैभन्दा ठूलो कुरा हो । ‘जे गरे पनि त्योभन्दा कम शुल्कमा उपचार हुँदैन, सक्नुहुन्न भने अर्को हस्पिटल जानुस् भन्यो अस्पतालले,’ बिरामी पूर्णमानका ज्वाइँ विक्रम हाँडीले सुनाए ।

प्रादेशिक अस्पतालमा आईसीयू बेड नै खाली नरहेको र विराटनगर वा धरान जाँदा धेरै समय खर्च हुने र जोखिमसमेत बढी हुनेहुँदा श्रेष्ठका परिवार त्यहाँ उपचार गराउन बाध्य भए ।

‘अस्पतालले हाम्रो मजबुरीको फाइदा उठाएर लुट्यो, रगतै चुस्यो । तर, ज्यान जोगाउन हामीसँग अर्को कुनै विकल्प पनि त थिएन,’ हाँडीले गुनासो पोखे । अस्पताले भने शुल्क त्यति मात्र लिएन, उपचारमा खटिने डाक्टर तथा अन्य स्वास्थ्यकर्मीका लागि पीपीई सेटसमेत उनैबाट किन्न लगाए ।

Sponsored

‘डाक्टरले अस्पतालको फर्मेसीबाट औषधि, पीपीई, ग्लोब्स, मास्कलगायत सामान किनेर ल्याउन पुर्जीमा लेखदिए । बाहिर १७ सय रुपैयाँमा पाइने एक सेट पीपीईलाई अस्पतालले ३५ सय रुपैयाँ पर्ने बताएपछि मैले बाहिरबाटै किनेर ल्याएँ,’ उनले भने ।

अस्पतालमा कोरोना संक्रमित र संक्रमण नभएका सबै गम्भीर बिरामीलाई एउटै वार्डमा राखेर उपचार गरिरहेको बिरामीका आफन्तहरू बताउँछन् । उपचारमा भइरहेको लापर्बाहीकै कारण दुई दिनमै अस्पतालबाट बिरामीलाई लिएर हिँडेको हाँडाले बताए । रामजानकी अस्पतालमा दुई दिन उपचार गराउँदा औषधि, स्वास्थ्य सामग्रीबाहेक उनले ९६ हजार रुपैयाँ तिरे । तर, अस्पतालले भने उपचार खर्च तिरेको बिल दिएन । उनले थपे, ‘उपचार राम्रो नभएर मैले बिरामीलाई लिएर हिँडे । पैसा तिरे पनि बिलचाहिँ दिइएन । बिलकै लागि के लफडा गरिराख्नु भनेर मैले जबर्जस्ती गरिनँ,’ उनले थपे ।  

आईसीयूमा उपचाररत बिरामीलाई समेत अस्पतालले मेडिकेसनबाहेक केही नगरेको कोरोना संक्रमण पुष्टि भई दाइलाई त्यहीँ उपचार गराइरहेका गौशाला नगरपालिका– ८, भण्टाबारीका नवल महतोले गुनासो पोखे । ‘सेन्सलेस प्यासेन्टलाई आईसीयूमा भर्ना गरिन्छ । तर, त्यस्ता बिरामीलाई पनि आफन्तले नै समयसमयमा खाना खुवाउनुपर्ने, मास्क लगाइदिनुपर्ने र सबै हेरचाह गर्नुपरेको छ,’ उनले भने । नवल १० जेठदेखि ३२ वषीर्य दाइलाई आईसीयूमा उपचार गराइरहेका छन् ।

उनलाई समेत अस्पतालले भेन्टिलेटरमा राख्नुपरे दिनको ५५ हजार र बिनाभेन्टिलेटरको आईसीयूमा ४५ हजार रुपैयाँ तिर्नुपर्ने सर्तमा उपचार गरिरहेको छ । ‘अस्पतालले अति गर्‍यो तर के गर्ने, जसरी पनि दाइको ज्यान बचाउनु छ । अस्पताल सधैँ दिनको ५० हजार जम्मा गर्न भन्छ । अचेल दिनरात पैसा जोहो गर्ने चिन्तामै हुन्छु,’ नवलले सुनाए । अस्पतालभित्रको फार्मेसीमा बजारमा पाइने औषधिको मूल्यभन्दा चर्को मूल्य लिने गरेकाले उनी सबै औषधि बाहिरैबाट ल्याइरहेका छन् ।

रामजानकी अस्पतालले कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता मनपर्दी शुल्क लिएका यी दुई जना प्रतिनिधिपात्र मात्र हुन् । उपचार गराउन आएका बिरामीका आफन्तका अनुसार अस्पतालले आईसीयू बेडको एक दिनको ६० हजारसम्म लिइरहेको बिरामीका आफन्तहरू नै बताउँछन् । यसरी चर्को शुल्क लिए पनि अस्पतालले कसैला२ पनि बिल भने नदिने गरेको छ ।

बिरामीसँग चर्को शुल्क लिइरहेको बारेमा प्रशन् गर्दा अस्पतालका सञ्चालक गणेश साह आफूलाई केही थाहा नभएको भन्दै पन्छिए । अस्पतालको आईसीयू बेडको शुल्क कति तोक्नुभएको छ भन्ने प्रश्नमा उनले भने, ‘त्यो त म्यानेजमेन्टलाई थाहा होला । यो बीचमा म पनि अस्पताल गइरहेको छैन,’ उनले भने । यस विषयमा अस्पतालका प्रशासन प्रमुख विकासप्रसाद गुप्तासँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । 

चर्को शुल्क लिएकै कारण यही ९ जेठमा अस्पतालका कर्मचारीमाथि स्थानीय बिरामीका आफन्तले हातपातसमेत गरेका थिए । अस्पतालले एक दिनको उपचार खर्च ७६ हजार रुपैयाँको बिल थमाएपछि बिरामी र अस्पतालका कर्मचारीबीच विवाद भएको थियो । प्रत्यक्षदर्शीका अनुसार अस्पतालले गल्ती स्वीकार गर्दै २५ हजार रुपैयाँ मात्र लिन तयार भएपछि विवाद साम्य भएको थियो । चर्को शुल्क र लापर्बाहीका कारण कैयौँ व्यक्तिको ज्यान गएपछि अस्पताल पटकपटक विवादमा तानिँदै आएको छ ।

महामारीको मौका छोपेर अस्पतालले मनपर्दी शुल्क लिन नमिल्ने प्राइभेट हस्पिटल एसोसिएसन अफ नेपालका जनकपुर अध्यक्ष डा. एसके सिंह बताउँछन् । उनका अनुसार कोरोना संक्रमितका लागि भेन्टिलेटरसहितको आईसीयू बेड चार्ज दिनको १८ देखि अधिकतम २५ हजार रुपैयाँसम्म लिन पाउने एसोसिएसनको बैठकबाट निर्णय गरिएको छ ।

हस्पिटलले उच्च स्तरको  सुविधा उपलब्ध गराए १० देखि १५ प्रतशितसम्म बढी लिन सकिने उनको भनाइ छ । तर, त्योभन्दा बढी लिने अस्पताललाई कारबाही हुने डा. सिंहले बताए । महामारीमा स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीले बढी शुल्क लिने गरेकाले अस्पतालले त्यतिसम्म शुल्क बढी लिएको अध्यक्ष सिंहको भनाइ छ ।

‘हामी अहिले खराब अवस्थामा छौँ । त्यसैले अनुगमन गर्न पाएका छैनौँ । हामीनेर पनि चर्को शुल्क लिएको गुनासो आएको छ । तर, हामीले एक्सन लिन सक्दैनौँ । स्पष्टीकराण सोध्छौँ,’ डा. सिंहले भने । उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यकर्मीका लागि पीपीई, ग्लोब्सलगायतका सामग्री समेत बिरामीबाटै चर्को शुल्क तिराएर लिन लगाउनु गलत रहेको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “रामजानकी अस्पतालको ब्रह्मलुट : एक दिनको आईसीयू बेडचार्ज ५५ हजार असुल्दै

  • May 31, 2021 at 10:50 am
    Permalink

    I have some footage of ramjanaki hospital

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *