TodayPati

धनुषा र महोत्तरीका भोकाहरुलाई खाना खुवाउँदै मनकारी युवाहरु

रञ्जन भण्डारी

महोत्तरी, जेठ १५ गते ।


दोस्रो भेरिएन्टको कोरोनाले जरा गाड्न थालेपछि भारत र नेपालका सबै शैक्षणिक संस्थाहरु बन्द भए । नेपाल तथा भारतका विभिन्न कलेजहरुमा पढ्न गएका जलेश्वर र वरिपरिका विद्यार्थीहरु पठन पाठन बन्द भएपछि घर फर्किसकेका थिए ।

Sponsored

घरमै उनीहरुले केहि समय अनलाईन कक्षामा समावेश भएपछिको समय सदुपयोग गर्ने अन्य केहि काम थिएन ।
बाहिरबाट फर्केका र आफनै ठाउँमा अध्ययनमा समय व्यतित गरिरहेका युवाहरुले बचेको समयको सदुपयोग गर्ने तरिका खोजे र सुरु गरे अस्पतालमा रहेका बिरामीहरुलाई खाना खुवाउन ।

जलेश्वर अस्पतालमा कोभिडका बिरामीहरुलाई अक्सिजन सहितको उपचार सुरु भैसकेपछि बिरामी र कुरुवाहरुलाई लकडाउनकै कारण खाना खान समस्या भैरहेको देखेर युवाहरुले तिनैलाई खाना खुवाउने निश्चय गर्दै अभियान सुरु गरे ।
सोहि बेला जनकपुरमै समेत महामारी नियन्त्रण र व्यवस्थापन समिति(पिसिएमसी) युवाहरुले गठन गरि अस्पताल तथा सडकमा र अन्यत्र भोकाएकाहरुलाई खाना खुवाउने र उनीहरुसंग हुने सबै प्रकारको सहयोग गर्न सुरु गरिसकेका थिए ।

तिनै युवाहरुले जलेश्वर र वरिपरिका युवाहरुलाई हौस्याए र महोत्तरीमै समेत यस्तो सेवा सुरु गर्न प्रेरित गरे । पहिलेदेखि नै पेन्डेमिक समयमा केहि गरौ भनेर सोच बनाएका युवाहरुले धनुषाका युवाहरुको साथ र हौसला पाएपछि र महोत्तरीकै युवा कुन्दन झाले आफुले आर्थिक सहयोग गर्ने वताएपछि जलेश्वरमै युवाहरुले महामारी नियन्त्रण र व्यवस्थापन समिति (पिसिएमसी) गठन गरेर अभियानको सुभारम्भ गरे ।

Sponsored

बिहीबार अभियानको दश दिन पुरा गरिसकेको युवाहरुले चारसय भन्दा वढीलाई नास्ता र खाना खुवाइसकेका छन् । बिहान नास्ता र वेलुका खानाको दैनिक बन्दोवस्त गरिरहेका पिसिएमसी महोत्तरीका युवाहरु जलेश्वर अस्पतालमा कोभिड वार्डमा भर्ना भएका बिरामी,तिनका कुरुवा र कोभिडमा खटेका स्वास्थ्यकर्मीहरुलाई नियमित खानाको बन्दोवस्त गर्दै आएका छन् ।

एकजनाले आर्थिक सहयोग गरेर युवाहरुले सुरु गरेको अभियानमा अहिले केहि गोप्य दान तथा केहि व्यक्तिले खुल्ला रुपमै आर्थिक सहयोग गरेर अभियान चलाउन सघाइरहेको पिसिएमसीका अभियन्ता विष्णु गुप्ता बताउँछन् । अभियानमा खाना बनाउने स्थान भने जलेश्वरका स्थानिय युवा व्यवसायी अजय चौधरीले उपलब्ध गराएका छन । उनले उपलब्ध गराएको ठाउँले अभियान संचालनमा निक्कै सहयोग पुगेको युवाहरु बताउँछन् । साथै जलेश्वर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वरुण दाहालले समेत सकेजति सबै सहयोग गर्दै आएका छन् । उनले अभियान नरोकिने गरि आवश्यक सबै सहयोग जुटाउँदै आएका हुन् ।

सुरुमा केहि दिन भान्से राखेर नै अभियान चलाएका युवाहरुले भान्सेको आर्थिक भार बढेको र अन्य केहि कठिनाई आएपछि हाल आफै नास्ता र खाना तयार गरिरहेका छन् । अर्का अभियन्ता बादल साहले अनलाइन क्लास बाहेकको समयमा कोरोना विरुद्धको लडाईमा सहयोग गर्न पाउदा अत्यधिक खुशी लागेको बताउँछन् । उनी भन्छन,“पहिले अस्पतालमा खाना र नास्ता पुर्याएर थप नास्ता र खाना बोकेर बाईकमै नगर घुम्छौ । जलेश्वरनाथ महादेव मन्दिर तथा सडकमै भेटिनेलाई खाना खुवाउछौ । यो हामीमहरुको जीवनको ठूलो काम र सिकाई हो । त्यही नास्ता र खाना बाँडेर भोकोको भोक मेटाउन पाउदा खुशी भएर जव तिनीहरुले आशिर्वाद दिन्छन त्यती बेला लाग्छ यो भन्दा पुण्यको काम अन्य हुनै सक्दैन । ”

बिटटू पासमान पिसिएमसीका अर्का अभियन्ता हुन् । उनी सामाजिक संजाल तथा प्रत्यक्ष फिल्डमै खटेर सहयोग चाहिनेको खोजी गर्छन् । टिममै आएर छलफल गर्छन् र तत्काल सहयोग पुर्याउन खटिहाल्छन् । उनी भन्छन्,“अभियानमा १३ जना विद्यार्थीहरु लागेका छौँ । हाम्रो काम देखेर थप युवाहरु जोडिन चाहिरहेका छन् । अझै हामीहरुले सकेजति सहयोग गर्ने प्रतिवद्धताका साथ लागिरहेका छौँ । सहयोग आइरहे अभियानले निरन्तरता पाइरहन्छ । ”

युवाहरुले खाना र नास्ता खुवाउने मात्र नभई बिहीबार जलेश्वर नगरपालिका १२ थरुवाहीमै एक अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री समेत वितरण गरेका छन् । परिवारमा कमाउनेको रोगले नै मृत्यु भैसकेको र अन्य कोहि कमाउने नभएपछि भोकले छटपटिएको परिवारलाई पिसिएमसीले गरेको खाद्यान्न सहयोग अमूल्य रहेको थरुवाहीकै स्थानियहरुले बताए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भटटराई समेत युवा विद्यार्थीहरुको परोपकारी भावना देखेर आफु निक्कै खुशी भएको वताउँछन् । उनी युवाहरुको अभियान नजिकैबाट नियालिरहेको बताउँदै महोत्तरीमा अझै यस्ता परोपकारी युवाहरु र अभियन्ताहरुको आवश्यक्ता रहेको बताए । उनी कोरोना पेन्डेमिकका वेला लकडाउनको बाध्यता र सोहि बाध्यताले सृजना गरेको अभावको समय यस्तै युवाहरुले सहयोग गरे हामी महोत्तरीमा र देशमै कोरोनालाई पराजित गरेरै छाड्ने वताउँछन् ।


महोत्तरीको बर्दिवासमै समेत फुड बैंक संचालन गरेर युवाहरुले यस्तै परोपकारी कार्य गरिरहेका छन् । बर्दिवासमा एक हजार दुईसय भन्दा वढी पोका खाना बाडिसकेको फुड बैंकले दैनिक ज्यालादारी गरेर खानेहरु लकडाउनकै कारण काम नपाएर घरमै वस्नु पर्दा अभाव झेलिरहेकोमा तिनीहरुलाई खाना उपलब्ध गराएर सघाइरहेका छन् । फुड बैंकको अभियानमा स्थानिय व्यवसायीहरुका साथै प्रदेश सांसद शारदा थापाले समेत सहयोग गरिरहेकि छिन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *