पर्सामा जेठ १३ गतेसम्मको लागि निषेधाज्ञा थपियो
टुडेपाटी-
पर्सा, जेठ ५ गते ।
पर्सामा जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । डीसीसीएमसीको बुधबार बसेको बैठकले कोरोना संक्रमणका कारण जिल्लाभरिमा जारी निषेधाज्ञालाई जेठ १३ गते राति १२ बजेसम्म जारी राख्ने निर्णय गरेको हो ।
जिल्लामा एन्टिजेन किटको अभाव रहेकाले प्रदेश २ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसित माग गर्ने निर्णय बैठकले गरेको छ ।
गृह मन्त्रालयले पठाएको पत्रअनुसार मेडिकल अक्सिजनको प्रयोग र अस्पतालको समन्वयमा आवश्यकता र समन्वयका आधारमा जिल्लास्थित अस्पतालमा अक्सिजनको आपूर्ति व्यवस्था मिलाउने, जिल्लामा कोभिड संक्रमितको उपचार गराइरहेका निजी अस्पतालले बिरामीलाई प्रवाह गरेको उपचार सेवा र बिरामीबाट लिने गरेको सेवा शुल्कको सम्बन्धमा अनुगमन टोलीमार्फत अनुगमन गर्ने निर्णय पनि डीसीसीएमसीको बैठकले गरेको छ ।
साथै, नारायणी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि यसअघि नै टेन्डर प्रक्रिया सम्पन्न भई सम्झौता भइसकेको अवस्था रहेकाले सम्बन्धित निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न तोकेता गर्ने निर्णय पनि बैठकले गरेको छ ।