जनकपुर : रोगले भन्दा भोकले मरिने चिन्तामा कुष्ट रोगी, छाक टार्नै धौधौ
किरण कर्ण-
जनकपुरधाम, जेठ २ गते ।
कोरोना संक्रमणको दोस्रो लहरबाट प्रदेश २ मा दिनहुँ सयौँको संख्यामा संक्रमित थपिँदै गएका छन् । मृत्यु हुनेको संख्यामा पनि दैनिक वृद्धि हुँदै गइरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ को ८ वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दुई साताभन्दा लामो समयदेखि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण निम्न तथा मध्यम वर्गीय समुदाय नराम्ररी प्रभावित हुन थालेको छ ।
निषेधाज्ञाका कारण घर बाहिर गएर काम गर्न सक्ने अवस्था नरहेपछि मजदुर वर्गलाई दैनिक खर्च चलाउनसमेत समस्या हुन थालेको छ । अर्कोतिर, मन्दिर अगाडि बसेर भीख माग्ने र फोहोर सामग्री संकलन गर्दै कवाडखानामा बेचेर गुजारा चलाउँदै आएकालाई समेत यतिबेला निकै समस्या देखिएको छ । उनीहरु रोगले भन्दा पनि भोकले मरिने चिन्तामा छन् ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम वडा नम्बर ७ मा जमिरिया देवी धर्मशालामा लामो समयदेखि कुष्ठ रोगीहरु बसोबास गर्दै आएका छन् । सो भवन कुष्ठ रोगीहरुकै लागि निर्माण गरिएको हो । विगत ४ दशकभन्दा लामो समयदेखि धनुषा जिल्लामा कुष्ठ रोगीलाई समाजबाट बहिष्कार गरिन्थ्यो । स्थानीय जमिरिया देवीले आफ्नो नाममा कुष्ठरोगीहरुकै लागि सो धर्मशाला निर्माण गरेको हो ।
उक्त धर्मशालालाई स्थानीयवासीले ‘कोढीया समाज’ पनि भन्ने गर्छन् । अहिले यो धर्मशालामा बालबालिकासहित करिब ३० जना बसोबास गर्दै आईरहेका छन् । उनीहरु सामान्य अवस्थामा भीख मागेर वा फोहोर संकलन गरेर कवाडखानामा बेच्दै जीविकोपार्जन गर्दै आए पनि निषेधाज्ञाका कारण हातमुख जोर्नकै लागि अहिले समस्यामा परेका छन् ।
Sponsored
मागेर दुई छाक टार्नेहरुलाई बसोबासका लागि समस्या नभए पनि दानापानीको चिन्ताले सताउन थालेको छ ।
पोहोर कोरोना संक्रमणको त्रासकै कारण लगाइएको निषेधाज्ञामा विभिन्न दाता तथा स्थानीय सरकार, प्रदेश सरकारले राहत बाँडेकोले उनीहरुलाई समस्या भएको थिएन । तर यसपाली निषेधाज्ञा लागेको दुई साताभन्दा लामो समय बिते पनि अहिलेसम्म कसैले सहयोग उपलब्ध नगराएका कारण यो समुदाय समस्यामा परेको हो ।
ठेलामा सामान ओसारपसार गरेर परिवारको गुजारा चलाउँदै आएका मजदूर वर्ग होस् या रिक्सा चलाएर गुजारा चलाउँदै आएका वर्ग होस्, निषेधाज्ञाका कारण आम्दानी ठप्प हुँदा घर खर्च चलाउनकै लागि समस्यामा परेका छन् ।
सामान्य अवस्थामा ४५ वर्षीय सुरेश सदा दिनहुँ फोहोरमा फालिएको प्लाष्टिक, प्लाष्टिकका बोतल लगायतका सामग्री जम्मा गरेर कवाड़मा बिक्री गर्थे । दैनिक ५०/६० रुपैयाँसम्म कमाउने सदाले निषेधाज्ञाका कारण त्यो आम्दानी गुमाएका छन् ।
जमिरिया देवी धर्मशालामा सदाकी श्रीमती, भान्जी र बहिनी छन् । उनी श्रीमती अशक्त छिन् । उनी दिनभर भीख मागेर ल्याउँथिन् । सदाले प्यास्टिकजन्य सामान संकलन गरेर बेच्ने र उनकी श्रीमतीले भीख मागेर ल्याएको केही रकमले उनीहरुको चार जनाको परिवार पालिँदै आएको थियो । ‘निषेधाज्ञा लागेपछि आम्दानीको बाटो बन्द छ,’ सदाले भने, ‘दुई छाक टार्न समस्या भएको छ ।’
५३ वर्षीय बेचन मण्डलले केही दिन अगाडिमात्रै आफ्नी ९५ वर्षीय आमा र १८ वर्षीय छोरालाई गुमाए । आमाको काजकिरियामा बसेका बेचन शोकमा रहँदासमेत चार जनाको परिवारलाई दैनिक दुईछाक कसरी टार्ने भन्ने चिन्तामा छन् ।
कवाड़ीको काम गर्दै आएका बेचन पछिल्लो समय निषेधाज्ञाका कारण काम बन्द भएपछि परिवार पाल्नै समस्या भएको बताउँछन् ।
जमिरिया देवी धर्मशालामा भीख मागेर गुजारा चलाउने दुई वृद्धा जगतोरिया देवी र चाइना देवी पनि निषेधाज्ञाका कारण संकटमा परेको बताउँछन् । ७५ वर्षीय जगतोरिया देवीले भनिन्, ‘पेटले त निषेधाज्ञा छ भनेर मान्दैन, भिख माग्न पनि समस्या छ, बाहिर निस्किँदा प्रहरीले लखेट्छ । हामीले हाम्रो पेट कसरी भर्ने ?’
जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएकाहरु रोगले भन्दा पनि भोकले मरिने चिन्तामा छन् ।
जनकपुरधाम उपमहानगरपालिका–७ का वडा अध्यक्ष जानकीराम साहले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञालाई लम्ब्याउँदै गर्दा समस्या उत्पन्न हुन थालेको बताउँछन् । निषेधाज्ञा लम्बिदै गएमा वडा कार्यालयबाटै भए पनि उनीहरुका लागि राहत व्यवस्था उपलब्ध गराउने उनले बताए ।