निषेधाज्ञाको पहिलो दिन सुनसान सिरहा
टुडेपाटी-
सिरहा, जेठ २ गते ।
सिरहामा शनिबारदेखि जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पहिलो दिन शनिबार जिल्लाका मुख्य राजमार्ग तथा सडकहरूमा चहलपहल निकै घटेको छ ।
अत्यावश्यक बाहेकका पसल खुलेनन् । बजार बन्द छ । चोकचोकमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले जाँचमा कडाइ गरे ।
निजी तथा सार्वजनिक सवारीसाधनमा रोक लगाइएको छ । अत्यावश्यक सवारीसाधन चलेका छन् । उल्लेख्य रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । अनुमतिवाहकले पनि देखिने गरी सेवा दिने क्षेत्र उल्लेख गरी परिचयपत्र सहित हिँड्नुपर्ने नियम बनाइएको छ ।
अघिल्लो पटकको लकडाउनमा जस्तो यसपटक निषेधाज्ञा उल्लंघनका घटना कम देखिएको सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी शालिग्राम शर्मा बताउँछन् ।
Sponsored
‘निषेधाज्ञा उल्लंघन गर्ने केही सवारीसाधन र सर्वसाधारण कारबाहीमा त परे, तर लडकाउनमा जसरी हामीले हैरानी खेप्नुपरेको थियो, यसपटक त्यति भएन,’ उनले भने, ‘सर्वसाधारणमा तुलनात्मक रुपमा सचेतना अलिक बढेको देखियो ।’
जिल्लामा दोश्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि ३ साताका लागि निषेधाज्ञा लगाइएको हो । डीसीसीएमसीको बिहीबारको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायत सञ्चालन गर्न रोक लगाइएको छ ।
खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल भने बिहान ६ बजेदेखि साढे नौं बजेसम्म र निर्माण सामग्रीका पसल बिहान साढे नौँ बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै खोल्न पाइने डीसीसीएमसीको निर्णय छ ।