सीमानाकामा सरकार उदासीन, नेपालमा सहजै कोरोना फैलिने खतरा
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, चैत ७ गते ।
विश्वभर महामारीको रुपमा कोरोना भाइरस फैलिरहेको छ । शुक्रबार बिहानसम्मको तथ्यांक अनुसा कोरोनाबाट विश्वभर १० हजार ३५ जनाको मृत्यु भइसकेको छ । छिमेक देश भारतमा पनि अहिलेसम्म चारजनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । नेपालको १४ जिल्ला टाँसिएरै रहेको छिमेक देश भारतको बिहार राज्यलाई कोरोना संक्रमणको महामारी घोषणा गरेको छ । कोरोना संक्रमणको सामना गर्न बिहार महामारी रोग कोभिड–१९ नियमावली २०२० लागु गर्दै हाइ एलर्टमा छ ।
कोरोनालाई मध्यनजर गर्दै नेपाल सरकारले वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, धनगढीको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा गरी ४ वटा बाहेक सबै नाका बन्द गरेको छ । यधपि ४ नाका बाहेक सबै नाकाहरुबाट सवारीसाधनको प्रवेश नभएपनि लाखौ सर्वसाधारण आउनेजाने क्रम जारी नै छ । यति हुँदा पनि नेपाल सरकारबाट नाकामा खासै साबधानी र सतर्कता अपनाएको देखिँदैन ।
देशकै सबैभन्दा ठुलो नाकाको रुपमा रहेको पर्साको वीरगञ्ज स्थित रक्सौल नाका खुल्ला छ । यस नाकाबाट दैनिक हाजरांै मानिसहरुको भारतीय बजारमा आबत जावत गर्ने, भारतको विभिन्न ठाउँहरुबाट भित्रिने क्रम चलिरहेको छ । ७ जना स्वास्थ्यकर्मी टोलीसहितको नाकामा एउटा हेल्प डेस्क खडा गरिएको छ । सातैजना तीन सिफ्टमा बस्ने गरेका छन् । एक सिफ्टमा मात्र दुईजना हुन्छन् । त्यस नाकाबाट प्रवेश गर्नेहरुलाई लाम लगाएर शरीरको तापक्रम जाँच्ने गरिन्छ । तापक्रम जाँच्न २ वटा थर्मल गन सरकारले उपलब्ध गराएको छ ।
मान्छेको बाक्लै आउजाउ हुने गरेकाले उत्ताबाट आउने सबैलाई चेकजाँच गर्न नभ्याइने गरेको वीरगञ्जका समाजसेवी प्रकाश थारु बताउँछन् । ‘करोना संक्रमणको उच्च जोखिमको बेला पनि हजरौं मान्छे भित्रिने नाकामा २ जना चिकित्सक राखेर के हुन्छ ? सबैलाई राम्ररी जाँच्न सम्भव छैन । धेरै मान्छे यतिकै भित्रिन्छन् ।’ समाजसेवी थारुले भने ‘कोरोना रोक्न सरकारले गम्भीर भएर नाकामा चेकजाँचको उचित व्यवस्थापन गर्न सकेन । हामी नेपाली कोरोना भाइरसको उच्च जोखिममा छौं । अहिले पनि सरकार यसप्रति गम्भीर होस् ।’
रक्सौल नाकाकै जस्तै हालत सवारीसाधन प्रवेश निषेध गरिएको नाकाहरुको पनि छन् । सिरहाको प्रमुख नेपाल भारत नाकाको रुपमा रहेको खयरटोका नाकाबाट बन्द गरिएको छ । तर सयौं मानिस दैनिक आउने जाने गर्दछन् । नाकामा तीनजना स्वास्थ्यकर्मी र एक प्रहरीसहित चारजनाको हेल्प डेस्क राखिएको छ । हेल्पड डेस्क सीमाबाट झण्डै ५ सय मिटर पूर्व उत्तरमा खयरटोका भन्सार नजिक छ । भारत बिहारको मधुवनी जयनगर हुँदै खरटोका नाकाबाट मानिसहरु सिरहा छिर्ने गर्दछन् । तर प्रवेश गरेकालाई हेल्प डेस्कमा अनिबार्य चेकजाँच भने छैन । आफैलाई मन लागेको खण्डमा मानिसहरु चेकजाँच गराउँछन् । नभए त्यतिकै भित्रिने गरेको सिरहाको सिरहा नगरपालिका खयरटोकाका स्थानीय उमेश यादव बताउँछन् ।
Sponsored
‘नाकामा संवेदनशील भएर प्रत्येक प्रवेश गर्ने मासिनलाई चेकजाँच गर्नुपर्ने हो । तर त्यसो गरिएको छैन । यो कस्तो चेकजाँच हो ? नामको लागि सीमा यस्तो हेल्प डेस्क राखेर के फाइदा ? ’ प्रश्न गर्दै उमेश यादव भन्छन् ‘सरकार महामारी कोरोनाप्रति गम्भीर छैन भन्ने यसबाट पुष्टि हुन्छ । हामी सुरक्षित छैनौ बुझ्दा हुन्छ । देशभित्र मात्र जति नै सावधानी अपनाएर के हुन्छ ।’
यो भन्दा पनि दयनीय चेकजाँचको अवस्था छ महोत्तरी जिल्लाको मुख्यनाका भिठ्ठामोडको । जहाँ चारजना स्वास्थ्यकर्मीको हेल्प डेस्क राखिएको छ । पालैपालो र्दुइजना डिउटीमा हुन्छन् । यहाँ मानिसको शरीरको तापक्रम नाप्ने थर्मलगण पनि छैन । ज्वरो नाप्ने थर्मामिटरको प्रयोग गरी काँखीमा लगाएर तापक्रम जाँच्ने गरिएको जलेश्वरका पत्रकार रञ्जन भण्डारीको भनाइ छ । यो नाका बन्द गरिएपनि दैनिक हजारौ नागरिक जातआबत गर्ने क्रम जारी छ । यस्तो चेकजाँचले जाँच्ने हेल्प डेस्कका स्वास्थ्यकर्मी नै करोना संक्रमणको खतरामा रहेको पत्रकार मण्डारीको तर्क छ ।
यी तीन नाका उदाहरण मात्र छन् । भारतको बिहार राज्यसंग जोडिएका तराई मधेशको १४ जिल्लाको ठुलो सानो गरी दर्जनौ सीमानाकाको अवस्था यस्तै छ । छोटी नाकाहरुबाट भारतीय नागरिक तथा काम गर्न भारतको विभिन्न भागमा पुगेर फर्किरहेका नेपाली नागरिकहरु सहजै प्रवेश गरिरहेका छन् । सबै नाकाहरुमा हेल्प डेस्क राखिए पनि साधन, श्रोत र जनशक्तिको अभाव र लापरवाहीले चेकजाँचको व्यवस्थापन फितलो रहेको स्थानीयहरुको गुनासो छ ।
बरिष्ठ पत्रकार चन्द्रकिशोर झाले खुल्ला सीमा रहेकाले पूर्णरुपले बन्द गर्न नसकिने, तर आफैमा सावधानी अपनाउनु पर्ने बताए ।
सरकारले कोरोनाको संक्रमण रोक्न बिहीबारदेखि चैत मसान्तसम्मका लागि एसइइ लगायत सबै परीक्षा स्थगित, शैक्षिक संस्था बन्द र २५ जनाभन्दा बढी सार्वजनिक स्थलमा भेला हुन नपाउने सूचना जारी गरेको छ । नाकाबाट दैनिक हजारौ नागरिक भइरहेको प्रवेशले कोरोना सहजै फैलिन सक्ने भन्दै नागरिक त्रसित बनेका छन् ।