पर्सामा एक युवकको शव फेला, दुर्घटनाबाट मृत्यु भएको आशंका
टुडेपाटी-
पर्सा, चैत २० गते ।
पर्साको जगरनाथपुर गाउँपालिकामा एक युवकको शव फेला परेको छ । जगरनाथपुर–२ लक्ष्मीपुर बस्ने १९ वर्षीय नितेशकुमार चौहानको शव भेटिएको हो
।
जगरनाथपुर–५ जानकीटोलास्थित सिक्टा पुलमा बिहीबार राति उनी मृत भेटिएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।
उनका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थल जाँच मुचुल्कापछि शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको थियो ।
अस्पतालले दिएको प्रारम्भिक रिपोर्ट अनुसार मृतकको कानको जाली फुटेको, टाउकोको हड्डी भाँचिएको र पेटमा चोटमा लागेर कलेजो फुटेको छ । युवकको मृत्युको कारण यकिन भइसकेको छैन । तर कुनै गाडीले ठक्कर दिएर फरार भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
हिट एण्ड रन केस हुन सक्ने आशंकामा अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । ‘राति पुलमा रगत नै रगत भएको अवस्थामा शव भेटिएको हो । कानबाट रगत बगेको रहेछ ।’ उनले भने ‘पुल मुनी साईकल भेटियो । ‘हिट एण्ड रन’ केस हुनसक्ने आशंकामा अनुसन्धान शुरु गरेका छौं । त्यतिबेला त्यस क्षेत्रमा गुडेका ट्रक र ट्याक्टर लगायत सवारी साधनको खोजी गरिरहेका छौं । ’
Sponsored
सवारी दुर्घटनाले हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीको भनाइ छ ।