महोत्तरीमा पानी नपर्दा तरकारी बाली सुक्दै, चिन्तामा किसान
टुडेपाटी-
महोत्तरी, चैत २० गते ।
होली (फागु) पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् ।
होली पर्व सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान तरकारीका बोट र बेला (लहरा) सुक्दै गएको देखेर बिलखबन्द परेका हुन् । लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो ।
“खेत बारीमा भाण्टा, परवल, घिरौँला, झिमनी, रामतोरई, करेला, फर्सी र लौकासहितका तरकारीका बिरुवा पानीबेगर सुकिरहेका छन्, पानी पर्दैन, इनार धमाधम सुके । अब के गरौँ ?” जिल्लाको भङगाहा नगरपालिका–४ का तरकारी किसान चन्देश्वर राय दनुवारले दनुवारले विरक्तिँदै भने, “बारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरगुजारा केले टार्ने होला ?” लामो खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि किसानको पिरोलो बढेको हो ।
यसपालि सिङ्गो हिउँद पानी नपरी बित्यो । चैतमध्य सकिँदासम्म पानी नपर्दा वैशाखी तरकारीका बोट र लहरा सुक्दै गएका छन् । यो वर्ष तरकारी खेतीका लागि एकपछि अर्को प्रतिकूलताले मन भाँचेको किसानको ठम्याइ छ ।
Sponsored
“नयाँ वर्ष सँगै लकडाउनको मार पर्यो, फलेका तरकारी बजार लान नपाएर बोटमै बुढियो”, सोही बस्तीका अर्का किसान गङ्गाराम महतोले दिक्दारिँदै भने, “गत वर्षको वैशाखी र बर्खे तरकारी बाली बोटमै बुढियो, अहिले वैशाखी (गृष्मकालीन) तरकारी बाली पानीबेगर सुक्न थाल्यो ।”
जिल्लाको उत्तरवर्ती क्षेत्रका भङ्गाहा, बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्र तरकारी बालीका लागि उर्बर ठाउँ मानिन्छन् । त्यसैगरी मटिहानी नगरपालिकाका ढेकाहा, वर्दाहा, आवर र बलवा नगरपालिकाका धमौरा, रौजा बस्ती तरकारी उत्पादनमा उर्बर क्षेत्र मानिन्छन् ।