TodayPati

होली आयो, सुनिन छाडे जोगिरा र सुमधुर होली गीत

सौरभ यादव-

राजविराज, चैत १५ गते ।

कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंग
कौन ताल पर गोरिया नाचे कौन ताल पर हम’

Sponsored

जोगिरा सरररर…

केही वर्षपहिले सम्म होलीमा यस्ता गीतले गाउँघर गुन्जायमान हुन्थे । तर, अहिले गीत, ढोलक, मृदङ्ग (मादल जस्तै बाजा) र डम्फूको स्वर बिरलै सुन्न पाइन्छ ।

तराईमा फागु पूर्णिमा अर्थात् होली पर्वमा ढोलक, मृदंग, झ्याली, हार्मोनियमलगायतका बाजाका साथ वाद्यवादनका साथ सवाल जबाफ शैलीमा गाइने यस्ता होली गीत र जोगिरा विस्तारै हराउँदै गएको छ ।

Sponsored

दोहोरी गीत झै गाइने जोगिरा र होली गीतका कारण होलीमा तराईको रौनक छुट्टै हुन्थ्यो । तर, अहिले ती गीत सुनिँन छाडेका छन् ।

सप्तरीस्थित राजविराजका स्थानीय वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा खल्लो लाग्ने बताउँछन् । ‘पहिले-पहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अब न ढोल, मृदङ्ग नै बज्छन् न त फागु गीत नै गुञ्जिन्छन्,’ स्थानीय बद्री यादवले भने ।

पहिले गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगिरा गीत गाउने गरेको सम्झँदै यादवले भने, ‘त्यस्तो गीत नसुनेको पनि झण्डै दस वर्ष भयो ।’

युवाहरू वैदेशिक रोजगारीमा जान थालेसँगै होलीका गीत सुनिँन छाडेको यादवले बताए ।

‘गरिबीका कारण युवाहरु विदेश पलायन भएका छन् । त्यसैले पनि गाउँघरमा पहिले जस्तो हालीको रौनक देखिँदैन,’ यादवले भने ।

अहिले परम्परागत होली गीतको स्थान हिन्दी र भोजपुरी गीतले लिएको स्थानीय राजकुमार यादवले बताए । ‘गाउँघरमा आजभोलि होलीका साँस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ,’ उनले भने ।

सांस्कृतिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको होलीको मौलिकता जोगाउनेतर्फ स्थानीयदेखि संघ सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *