मिनापको होरी गायनमा वभनगामा समूह प्रथम, भोलि महामूर्ख सम्मेलन
टुडेपाटी–
जनकपुरधाम, चैत १४ गते ।
होली पर्वको पूर्वसन्ध्यामा जनकपुरको जानकी मन्दिर परिसरमा होरी गायन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार मिथिला नाट्यकला परिषदको आयोजनामा भएको होरी गायन प्रतियोगितामा धनुषाको बभनगमा युवा क्लव प्रथम भएको छ ।
यस्तै धनुषाको मिथिलानगरपालिका ८ जमुनिवास होरैया समूह द्वितीय र खरशाल युवा होरैया समूह तृतीय भएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए ।
होरी गायनमा विजेता हुने प्रथम हुने वभनगामा समूहलाई ६ तोला, द्धितीय हुने जमुनीबास होरैया समूहलाई ५ तोला र तृतीय हुने खरशाल होरैया समूहलाई ४ तोला चाँदी पुरस्कार प्रदान गरिएको छ ।
बाँकी सम्पूर्ण सहभागि टिमलाई एक÷एक तोला चाँदीसहित कप र प्रमाणपत्र वितरण गरिएको महासचिव मल्लिकले जानकारी दिए । प्रदेश २ का दश वटा टिम सहभागिता रहेको होरी गायन प्रतियोगिताको निर्णयक मण्डलमा पत्रकार हिमाशु चौधरी, अशोक दत्त र कालाकार सुनिल मिश्र रहेका थिए ।
Sponsored
मिनापले पछिल्लो २५ वर्षदेखि होरी पर्वको अवसरमा प्रत्येक वर्ष दुई दिवसीय कार्यक्रम होरी गायन र महामूर्ख सम्मेलन गर्दै आएको छ ।
यस्तै भोलि आइतबार मिनापले महामूर्ख सम्मेलन आयोजना गरेको छ । हाँस्य व्यंग्य महामूर्ख सम्मेलनमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसहित विद्वत एवं चर्चित व्यक्तित्वहरुलाई मूर्ख तथा महामूर्खको उपाधि प्रदान गर्ने गरिएको छ ।