TodayPati

धनुषाको तुलसी स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि

विजय साह-

जनकपुरधाम, चैत १० गते ।

धनुषाको मिथिला नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखाले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ ।

Sponsored

पालिकाको वडा नम्बर ११ चुरे दुधपानीस्थित तुलसी स्वास्थ्य चौकीमा पठाएको सिल्वर क्लोर, फोलस र सेब्रानलगायत थुप्रै प्रकारका औषधी म्याद गुज्रिसकेको अवस्थामा आइपुगेको स्वास्थ्य चौकीका प्रमुख सहदेव यादवले बताए ।

म्याद गुज्रेको औषधि स्वास्थ्य चौकी पुग्नुमा स्वास्थ्य शाखाका इन्चार्ज अशोक भण्डारीको लापरवाही भएको प्रमुख यादवले आराेप लगाए ।

उनले स्वास्थ्य कार्यालय नै म्याद गुज्रिएको र म्याद गुज्रिन लागेको औषधि आफू कहाँ पठाएको बताएको छ ।

Sponsored

२५ माघ २०७७ मा स्वास्थ्य शाखाले तुलसी स्वास्थ्य चौकीलाई आवश्यक औषधीहरु पठाएको थियो । पुसमै म्याद सकिएको कतिपय औषधि स्वास्थ्य शाखाले माघमा पठाएको तथ्य खुलेको छ ।

पुसमै म्याद सकिएको केहि औषधि स्वास्थ्य शाखाले माघमा पठाएको तुलसी स्वास्थ्य चौकीका ईन्चार्ज सहदेव यादवले बताए । त्यसमा केहि आफ्नो पनि प्राविधिक त्रुटि रहेको ईन्चार्ज यादवले स्वीकारे ।

‘मेरो पनि गल्ती छ, औषधि बुझ्ने बेला मलाई चेकजाँच गर्नुपर्थ्याे । तर शाखाकै विश्वासमा त्यसो गरिन’, ईन्चार्ज यादवले भने, ‘पछि औषधिको म्याद सकिएको देखेपछि स्वास्थ्य शाखामा जानकारी गराएको छु । तर कुनै सुनुवाई भएको छैन ।’

म्याद सकिएको औषधिहरुलाई स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले व्यवस्थापन गरिने उनको भनाइ छ ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मिथिला नगरपालिका वडा नं ११ का वडाअध्यक्ष वेदवहादुर कार्की स्वास्थ्य चौकीमा म्याद सकिएको औषधि रहेको विषयमा भने अनविज्ञ छन् ।

गएको साउनमा मात्रै म्याद सकिएको औषधिहरु व्यवस्थापन गरेको उनको भनाइ छ । ६–७ महिनामै औषधिको म्याद कसरी सकिन्छ भन्दै उनी आश्चर्यचकित भए । पुसमै म्याद सकिएको औषधि माघमा कसरी आइपुग्यो भन्ने जिज्ञासामा वडाध्यक्ष आश्चर्यमा परे ।

उनी आफू नभएको बेला व्यवस्थापन समितिको उपाध्यक्षलाई स्वास्थ्य शाखाबाट आएको औषधि बुझ्न जिम्मा दिएको भन्दै पन्छिए ।

यता स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष बुद्धबहादुर मोक्तानले आफूहरूले टेक्निकल कुरा बुझ्न नसकेको प्रतिक्रिया दिए ।

‘हामी टेक्निकलमा परेनौं, म्याद के हो उहाँहरुले बुझ्ने कुरा हो,’ उनले भने, ‘म्याद सकेको छ भने हामीलाई भन्नु पर्थ्याे । औषधिमा चैत–बैशाख भनेर लेखेको भए बुझ्थ्यो ।’ तर औषधिमा म्यादहरु अंग्रेजीमा भएको हुनाले आफु बुझ्न नसकेको उनले बताए ।

मिथिला नगरपालिकाका उपमेयर तारा कुमारी बस्नेत लामाले म्याद सकिएको औषधिको विषयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताइन् । उनले अनुगमन गर्ने आफ्नो अधिकार पनि नगरपालिकाले खोसेको आरोप लगाएकी छन् ।

‘मलाई योजना अनुगमनमा मात्रै सिमित पारेको छ’, उपमेयर बस्नेतले भनिन्, ‘जनताको लागि भएपनि स्वास्थ्य चौकीहरुको अनुगमन गर्छु ।’ उनले तत्कालै स्वास्थ्य शाखा अधिकृतलाई फोन गरेर आवश्यक निर्देशन दिँदै सचेत गराइन् ।

यस विषयमा मिथिला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रचिन्द्र डंगोलले सम्बन्धित शाखासंग बुझेरमात्र केहि प्रतिक्रिया दिने बताए ।
यता मिथिला नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत तालिमका लागि काठमाडौं गएका छन् । उनले आफू बाहिर रहेको र कार्यालयमा रहेको तथ्यांक देखेरमात्र केही प्रतिक्रिया दिने बताए ।

निशुल्क अत्यावश्यक औषधि व्यवस्थापन अन्तर्गत अस्पताललाई ७०, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५८, स्वास्थ्य चौकीमा ३५ तथा सामुदायिक स्वास्थ्य इकाई र सहरी स्वास्थ्य केन्द्रमा २५ थरीका औषधि निशुल्क आउँछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *