TodayPati

महोत्तरीमा प्रहरीको सक्रियतामा उद्योगको आगलागी नियन्त्रण, करोडौँको क्षति हुनबाट जोगियो

गोपाल प्रसाद बराल-

महोत्तरी, चैत १० गते ।

महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित एक उद्योगमा मध्यरातमा लागेको आगो प्रहरीले निभाएर करोडौंको क्षति हुनबाट जोगाएको छ ।

Sponsored

बर्दिबास–१ स्थित आरसी लिड ऐण्ड व्याट्री उद्योगमा सोमबार मध्यरातमा लागेको आगो गस्तीमा निस्केको इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले निभाएर करोडौंको क्षति जोगाएको हो ।

अत्यधिक प्रज्वलनशील कोइला, डिजल, फर्नसवाइल र व्याट्रीको भण्डारण रहेको उद्योगमा मध्यरातमा आगो लागेको देखेपछि गस्ती प्रहरी टोली पुगेर तत्काल आगो नियन्त्रण गरेको हो ।

आगलागीबाट उद्योगमा कार्यरत श्रमिकका लागि खाद्यान्न भण्डारण गरिएको , भान्सा र श्रमिकहरुको आरामकक्षसहित तीन कोठे घर र तिनमा रहेका सामान जलेर नष्ट भएका छन् ।

Sponsored

प्रहरी सकृयताले आगो प्रज्वलनशील पदार्थ भण्डारणकक्षमा पुग्न नपाउँदै नियन्त्रण भएपछि ठूलो क्षति हुनबाट जोगिएको उद्योग सञ्चालकमध्येका विनोद भण्डारीले बताउनुभयो ।

“प्रहरी दुःखको साथी भन्ने बुझियो” भावुक हुँदै भण्डारीले भन्नुभयो, “ठिक समयमा गस्ती प्रहरी नपुगेको भए बिल्लीबाठ हुने थियो ।”

आगलागीबाट १० लाख जतिको क्षति भएको भण्डारीको भनाइ छ ।

श्रमिकहरु कामको पालो सकेर घर गएका र बाँकी रात्रीकालीन पालोमा उद्योगको काममा लागेका हुँदा आरामकक्ष खाली भएकाले मानवीय क्षति नभएको भण्डारीले बताउनुभयो ।

उद्योग परिसरको घरमा आगलागी भई रहँदा कामदार बेखबर थिए । आगो देखेपछि अग्लो पर्खाल नाघेर प्रहरी टोली भित्र पसेर हल्लीखल्ली गर्दै आगो निभाउन जुटेपछि बल्ल कामदार जम्मा भएर आगो नियन्त्रण भएको थियो ।

“गस्तीका चार जना प्रहरीले निभाएका भूमिकाले उद्योग बच्यो” सञ्चालकमध्येका अर्का भक्त भण्डारीले सन्तोसको लामो सास फेर्दै भन्नुभयो ।

ईलाका प्रहरी कार्यालय बर्दिबासबाट रात्री गस्तीमा निस्केको प्रहरी सहायक निरीक्षक विनोदकुमार पटेल नेतृत्वको चार सदस्यीय प्रहरी टोलीले आगो सल्केको देखेका थिए ।

मुख्यद्वार बन्द हुँदा अग्लो पर्खाल नाघेर उद्योग परिसर भित्र पुगेर प्रहरीले नै हल्लीखल्ली गरेपछि कामदार आगो नियन्त्रणमा प्रहरीसँगै जुटेका थिए ।

“हामी उद्योगको छेउकै सडक भएर रात्री गस्तीमा थियौं, अचानक दनदनी आगो बढेको देख्यौ र पर्खाल नाघेर नियन्त्रण कार्यमा जुट्यौं” प्रसनि पटेलले भन्नुभयो, “हाम्रो हल्लीखल्लीले कामदार र अन्य छरछिमेकका पनि जुटे, आगो नियन्त्रण भयो ।”

आपूmहरु रात्री गस्तीका क्रममा उद्योग नजिक नै पुगेको हुनु सुखद संयोग बनेको प्रसनि पटेलको भनाइ छ ।

प्रसनि पटेल, प्रहरी हवल्दार कृष्णबहादुर थापा, प्रहरी जवान रोहित कुशवाहा र तुलबहादुर खुलालले आगो नियन्त्रणमा ज्यान बाजीमै राखेर गरेका कामको अहिले बर्दिबासमा निकै सराहना भएको छ ।

उद्योगले आजै तेश्रो बर्दिबास महोत्सव समापन समारोहमा कर्तव्यपरायण चार प्रहरीलाई सम्मानित र पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *