धनुषा सहित ९ जिल्लामा काँग्रेसमा विवाद चर्कियो, सदस्यता वितरण र नवीकरण गर्न अटेरी
टुडेपाटी-
जनकपुरधाम, चैत १० गते ।
नेपाली काँग्रेसमा क्रियाशील सदस्यता वितरण र नवीकरण विवाद चर्किएको छ ।
क्रियाशील सदस्यता वितरण र नवीकरण गरी त्यसको विवरण कांग्रेसको केन्द्रीय कार्यालयमा आजसम्म पठाइसक्नु पर्ने भए पनि प्रदेश २ का विभिन्न जिल्ला सहित ९ जिल्ला कार्यसमितिले यो काम सुरू नै गरेका छैनन्।
जसले १४ औं महाधिवेशन कार्यतालिका नै प्रभावित हुने देखिएको छ ।
काँग्रेस केन्द्रिय कार्यालयले जनाए अनुसार सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रूकुम पूर्व, डोल्पा जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सुरु गरेको छैन् ।
Sponsored
कांग्रेस केन्द्रले पटकपटक क्रियाशील वितरण र नवीकरणका काम समयभित्रै सक्न भने पनि ९ जिल्ला कार्यसमितिले अटेरी गरेका छन्।
कांग्रेसमा वडादेखि केन्द्रसम्म पार्टीका संरचना गठन र निर्माणमा क्रियाशील सदस्यको भूमिका रहन्छ। क्रियाशील सदस्यले वडा कार्यसमिति बनाउँछन् भने वडाबाटै आएका क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बनाउँछन्।
महाधिवेशन प्रतिनिधि नै प्रदेश र केन्द्रीय अधिवेशनका लागि मतदाता हुन्छन्।
अहिले कांग्रेसमा पाँच लाख हाराहारी क्रियाशील सदस्य छन्। पुराना क्रियाशीलको नवीकरण गर्ने र पाँच लाख हाराहारी नै नयाँ क्रियाशील थप गर्दा १० लाख क्रियाशील सदस्य पुग्ने कांग्रेसको अनुमान छ।
कांग्रेसले २०७ ठाउँबाट सफ्टवेयरमा क्रियाशीलको विवरण इन्ट्री गर्ने भने पनि १३८ ठाउँबाट मात्रै इन्ट्री भइरहेको छ।
सोमबार दिउँसो २ बजेसम्म तीन लाख ९२ हजारभन्दा बढी क्रियाशीलको विवरण इन्ट्री भइसकेको छ। यसमा एक लाख ८० हजार जति क्रियाशील नयाँ छन्।
क्रियाशीलको विवरण केन्द्रमा पठाउन ढिला हुँदा महाधिवेशन कार्यतालिका नै प्रभावित बनेको छ। कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने यसअघि नै घोषणा गरेको थियो।
सभापति शेरबहादुर देउवाको नियमित कार्यकाल गत वर्ष फागुन १९ मै सकिएको थियो। उनले एक वर्ष म्याद थपेका थिए। गत फागुन १९ मा म्याद सकिएपछि देउवाले संविधानको सहारा लिएर छ महिना म्याद थपेका छन्।