सर्लाहीमा दाइको मोटरसाइकल जलाउने भाइ प्रहरीको नियन्त्रणमा
टुडेपाटी-
सर्लाही, चैत १ गते ।
प्रहरीले सर्लाहीमा दाइको मोटरसाइकल जलाएको आरोपमा भाइलाई पक्राउ गरेको छ ।
ईश्वरपुर नगरपालिका ६ बयलबास निवासी मुस्तुफा अन्सारीको २२० सिसीको पल्सर मोटरसाइकल घरबाट चोरी गरी नजिकैको विद्यालय प्राङ्गणमा जलाउने एैसान अन्सारी पक्राउ परेका हुन् ।
एैसान मुस्तुफाका आफ्नै काकाका छोरा हुन् । प्रहरीका अनुसार १६ वर्षीय एैसानले आपसी रिसइबीका कारण मुस्तुफाको प्र २-०३-०१२ प २६०३ नम्बरको मोटरसाइकल घर नजिकैको नारायण माविको प्राङ्गणमा जलाएका छन् । मोटरसाइकल पूण रुपमा जलेको छ ।
शुक्रबार राति १ बजेतिर मुस्तुफाको घरमा राखिएको मोटरसाइकल निकालेर विद्यालयमा लगी आगो लगाइदिएका एैसानलाई आइतबार बिहान पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
पक्राउ परेका एैसानले मोटरसाइकल जलाएको स्वीकार गरेको र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।
Sponsored