कञ्चनपुर : प्रेमीसँग डेटिङ गएकी किशोरीलाई घर फर्किन ढिला भएपछि रचिन् सामूहिक बलात्कारको नाटक !
कैैलाश जोशी-
कञ्चनपुर, चैत १ गते ।
कञ्चनपुर पुनर्वास नगरपालिका-२ की १४ वर्षीया किशोरी शुक्रबार साँझ ७ बजेको समयमा घरबाट निस्किइन् । उनले अभिभावकसँग कलम किन्न जान लागेको बताएकी थिइन् । एकैछिनका लागि भनेर बाहिर गएकी उनी राति भइसक्दा पनि घरमा नआएपछि उनका अभिभावकले प्रहरीलाई खबर गरे ।
प्रहरीले तुरुन्तै खोजी सुरु गर्यो । खोजीका क्रममा किशोरी सडकको ३ सय मिटरभित्र पल्टिएको अवस्थामा फेला परिन् । उनले तत्काल प्रहरीसमक्ष ३ जना अपरिचित व्यक्तिले आफूलाई अपहरण गरी बलात्कार गरेको बयान दिएकी थिइन् । ‘घट्ना गम्भीर देखिएपछि अनुसन्धान सुक्ष्म रुपमा सुरु भयो’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले भने ‘हामीले अस्पताल लिएर स्वास्थ्य परीक्षण गरायौँ ।’
थापाका अनुसार प्रहरीले बालिकालाई शनिबार थप सोधपुछ गर्यो । त्यसपछि बालिकाले बयान फेरिन् । उनले आफूमाथि बलात्कार नभएको बताइन् । प्रहरीलाई किशोरीले दिएको जानकारी अनुसार घरबाट कलम किन्छु भन्दै हिँडेकी उनी आफ्ना प्रेमीसँग गएकी थिइन् । आफूसँगै पढ्ने करिब १६ वर्षीया किशोर भेटेर दिनभरि उसैसँग घुमेकी थिइन् ।
घर फर्कन धेरै ढिलो भएपछि अभिभावकले गाली गर्ने डरले उनले झुटो कथा रचेको पाइएको प्रहरीले जनाएको छ ।
बालिकाले दिएको बयानका आधारमा उनका प्रेमीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनकारी दिएको छ । ती किशोरको स्वास्थ्य परीक्षण पश्चात् थप जानकारी खुल्ने प्रहरीले जनाएको छ ।
Sponsored
यसअघि शुक्रबार साँझ करिब साढे ७ बजेतिर बालिकामाथि पहिचान नखुलेका ३ जना युवाको समूहले बलात्कार गरेको प्रहरीले बताएको थियो ।