TodayPati

एमाले पनि फुटको संघारमा, माधव नेपाल, झलनाथ खनाल छिटै पार्टीबाट अलग हुने

टुडेपाटी-

जनकपुरधाम, चैत १ गते ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ ।

Sponsored

अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टीभित्रै संघर्ष गर्ने निर्णयसहित नेकपा एमालेमै फर्किएको घोषणा गरेको एक साता नबित्दै माधकुमार नेपाल पक्षले अन्तत :ओलीसँग सँगै बस्ने स्थिति लगभग समाप्त भएको निष्कर्षमा पुगेको हो ।

आफूलाई अलग्याएर पार्टी विधान विपरीत ओली पक्षले माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने, आफू इतरका विभागीय प्रमुखलाई हटाएर नयाँलाई जिम्मेवारी दिने र पार्टी विधानमा रहेको ७० वर्षे हदम्याद हटाउने लगायत निर्णयहरु गरेपछि ओलीसँग मिल्ने सम्भावना लगभग समाप्त भएको र कुनै चमत्कारै भएमा मात्र त्यो रोकिने यो पक्षको निष्कर्ष छ ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ओलीवरुद्धको अभियानमा सहकार्य गरेका नेपाल नै ओली सँगसँगै बस्ने स्थिति सकिएको निष्कर्षमा पुगेको उनी निकट एक स्थायी कमिटी सदस्यले बताए ।

Sponsored

तर आफू अलग भएको निर्णय सार्वजनिक गर्नुपूर्व अझै केही दिन ओलीको कार्यशैली नियाल्नुपर्ने भन्दै नेपालले आफू पक्षीय नेता तथा कार्यकर्तालाई धैर्य गर्न आग्रह गरेका छन् ।

‘निरङ्कुश ओलीसँग मिलेर बस्ने स्थिति अब छैन । हामी अपमानित भयौँ । अब उनीसँग घुँडा टेक्ने स्थिति छैन । अलग हुनु हाम्रो बाध्यता बनेको छ,’ नेपाललाई उद्धृत गर्दै ती स्थायी कमिटी सदस्यले भने ।

शनिबार बसेको नेपाल पक्षको संसदसहितको केन्द्रीय समिति बैठकमा ओलीले शुक्रबार चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा गम्भीर छलफल भएको थियो ।

छलफलका क्रममा नेपाल पक्षका सांसदसहित केन्द्रीय सदस्यहरुले ओली प्रवृत्तिविरुद्ध लड्न आफूहरु तयार रहेको भन्दै सांसद पद गुमे पनि केही फरक नपर्ने धारणा राखेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग अनौपचारिक छलफलका क्रममा वरिष्ठ नेता माधव कुमार नेपालले अब ओलीसँग फर्किने कुनै सम्भावना नरहेको भन्दै पार्टी विभाजनतिर पुगेको बताए ।

‘अब ओलीसँग फर्किने सम्भावना छैन । फागुन ७ मा ओलीले बोलाएको बैठकमा पनि गइन्न’, नेपालले भने, ‘जेठ २ गते एमालेको जुन संरचना थियो । त्यो तलमाथि हुनुभएन । अब अलग अलग ढंगले जान्छौं ।’

देशभरबाट नेता कार्यकर्ताले आफूहरुलाई साथ दिने बचन दिएको उल्लेख गर्दै नेपालले ग्राउण्ड लेबलसम्म आफूहरुको पक्षमा माहोल रहेको पनि दावी गरे । ‘सांसदहरुले लोगो छुटाउन तयार छौं तर साथ छाड्दैनौँ भनेर भन्नु भएको छ ।

आज पनि केन्द्रीय समिति बैठकमा ४० सांसद उपस्थित हुनुभयो’, नेपालले भने, ‘ चमत्कार नै भएमात्रै नत्र ओलीसँग अब सहकार्य हुँदैन ।’ उनले एमालेको मूलधार आफूहरु नै भएको दावी गर्दै अब वृहत बाम एकताको पहल थालिने पनि बताए ।

अहिले नै आफूसहित झलनाथ खनाल सँगसँगै हुँदै गर्दा वामदेव गौतमपनि यो अभियानमा सहभागी हुने उनको विश्वास छ । उनले आफूहरुले नेतृत्व गरेको एमालेमा मोहनविक्रम सिंहदेखि विप्लव सम्मलाई समेट्न सकिने गरी लागिने उल्लेख गर्दै यसमा लागिपर्ने बताए ।

‘सर्वोच्चले फैसला गरिसकेपछि केपी ओलीले फोन गरेर छलफल गर्नुहुन्छ भन्ने अपेक्षा थियो । उल्टै हिजो जसरी निर्णय गर्नुभयो लगभग सहमतिको बाटो बन्द भएको छ’, उनले थपे ।
उसो त प्रधानमन्त्री ओलीले नेपालको कडा आलोचना गर्न छाडेका छैनन् ।

शनिबार आयोजित एक कार्यक्रममा नेपाल र खनालको नाम नलिई उनले भने,‘केही साथीहरु केपी ओलीलाई ठेगान लगाउन एमाले फर्कन्छौं भनिरहनु भएको छ, म भन्छुु – खुुट्टी देख्दै चाल पाइयो ।

देश बनाउन, पार्टी चलाउन, काम गर्न आउनुस्, सच्चिएर आउनुस्, स्वागत छ । केपी ओलीलाई ठेगान लगाउन आउनुुभयो भने तपाईको खुुट्टामा बाटोमै ठेस लाग्छ ।’

यसैबीच ओलीले ७ गतेको बैठकमा उपस्थित नभए माधव नेपाल लगायतलाई विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।
उसो त ओलीले ओलीले शुक्रबार एकपक्षीय रुपमा नेपाल समुहका नेताहरुको जिम्मेवारी खोसेर प्रदेश संयोजक तोकेपछि शनिवार नेपाल समुहले समेत समानान्तर कमिटी गठन गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई काण्टर दिन भन्दै नेपाल– खनाल समुह एमालेले प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

ओलीलाई काण्टर दिन नेपाल समुहले केन्द्रदेखि स्थानीय तहसम्मै समानन्तर कमिटी गठन गर्ने घोषणा गरिसकेका छन् । यसले केन्द्रदेखि स्थानीय तहसम्मै दुबै पक्षबीच मुठभेडको अवस्था सिर्जना हुने आकलन गरिएको छ ।

दुबै समुहबीच विवाद उत्कर्षमा पुगेकाबेला नेकपा एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला समेत आह्वान गरेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताउँदै भेला बोलाएको हो ।

चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको उपाध्यक्ष भिम रावलले बताए । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका पदाधिकारीलाई बोलाइएको छ ।

जनसंगठन, वर्गीय संगठन र पेशागत संगठनका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका अध्यक्ष, केन्द्रीय विभागका सदस्यहरुलाई पनि भेलामा बोलाइएको छ । ‘भेलाबाट हामीले महत्वपूर्ण निर्णय गर्नेर्छौं’ उपाध्यक्ष रावलले बताए ।

ओलीसँगै रहनका लागि नेपाल पक्षका ५ सर्त

नेपाल पक्षले अब ओलीसँग रहन आफ्ना पाँच सर्त कार्यान्वयन हुनुपर्ने अडान अघि सार्ने भएको छ । शुक्रबार ओलीपक्षबाट भएका निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षको पहिलो सर्त छ। उसको दोस्रो सर्त पार्टी एकता भन्दा पहिलेको एमालेमा रहेका संगठनका पदाधिकारी र संरचना चलाउन नहुने छ ।

आगामी दिनमा पार्टीलाई विधिसम्मत, विधान र संगठनात्मक सिद्धान्तमा चलाउनुपर्ने नेपाल पक्षको तेस्रो सर्त हो । यसभित्र तोकिएको समयमा बैठक बसाल्नुपर्ने, एजेण्डा आउनुपर्ने, त्यसमा छलफल हुनुपर्ने र भएका निर्णय कार्यान्वयनतर्फ जानुपर्ने जस्ता कुराहरु पर्छन् ।

राजनीतिक र संवैधानिक निर्णयहरु पनि पार्टी बैठकबाट निर्णय गराउनुपर्ने छ । तेस्रो, ओलीलाई हटाउने वा राख्ने भन्ने मामिलामा कुरा नगरी वामपन्थीकै सरकार बनाउनुपर्छ भन्नेमा अडिग रहने छ । तर आफ्नो राजीनामा माग्छन भन्ने भयले पनि ओलीले नेपाल पक्षलाई अलग्याउन खोजेको देखिन्छ ।
अर्थात ओलीमा असुरक्षित मानसिकता बढ्दै गएको निष्कर्ष नेपाल पक्षको छ। ओलीले पदका लागि सिंगो पार्टी नै विभाजित बनाएको नेपाल पक्षको बुझाइ छ। अहिले पनि आफू हट्न परेमा आफ्नो विरोध गर्नेलाई सरकारमा नल्याउने निर्णयमा ओली पुगेको नेपाल पक्षको बुझाइ छ ।

चौथो, नेपाल पक्ष वाम एकताको कोसिस जारी राख्नु पर्ने मान्यतामा पनि छ । तर प्रजातान्त्रिक मूल्यमान्यतालाई आत्मसाथ गर्न नछोड्ने र अप्राजातान्त्रिक गतिविधि हटाउने पक्षमा नेपाल पक्ष उभिएको छ। पछिल्लो पटक कैलाली, तेह्रथमलगायत जिल्लामा ओली पक्षका नेता तथा कार्यकर्ताले देखाएको हर्कत प्राजातान्त्रिक नभएको नेपाल पक्षको निष्कर्ष छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा नभई पार्टी केन्द्रीय कार्यालयमा बैठक डाक्नुपर्ने नेपाल पक्षको सर्त छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *