प्रदेश २ : बस मालिकलाई अपहरण गरी भारत लगेर बेच्न खोज्ने दास प्रहरीको फन्दामा
टुडेपाटी-
जनकपुरधाम, फागुन २२ गते ।
अपहरणमा संलग्न रहेको आरोपमा बाराबाट प्रहरीले १४ वर्षपछि एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका–८ बस्ने ४६ वर्षीय जगदिश दास रहेको प्रहरीले जनाएको छ ।
२०६३ साल मंसिर २१ गते साँझ करैया पुलमा काठमाडौंबाट आएको बा २ ख ६४१ नम्बरको यात्रुबाहक बस रोकेर बसधनीको अपहरण गरेको प्रहरीले जनाएको छ ।
दाससहित केही व्यक्तिहरूले कटुवा बन्दुक देखाएर खोटाङ दिक्तेल–२ घर भइ भक्तपुर मध्यपुरथिमी नगरपालिका–१५ बस्ने ताराकुमार खत्रीको अपहरण गरेका थिए।
Sponsored
अपहरण गरी नगद मोबाइल तथा घडीहरू समेत लुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।
बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रका अनुसार दासले ती बसधनीलाई भारतमा लगेर बेच्न समेत खोजेका थिए ।
खत्रीलाई अपहरण गरी उनको घरमा फिरौतीसमेत मागेको र नदिएमा भारतमा बेच्ने योजना बनाएको मिश्रले बताए। तर खत्री भागेका थिए।
दास विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरेको कार्यालयले जनाएको छ।