वीरगञ्जमा अलपत्र परेकी वृद्धा महिलाको महिनौंपछि उद्धार
टुडेपाटी-
वीरगञ्ज, चैत १ गते ।
वीरगञ्जमा महिनौंदेखि अलपत्र अवस्थामा रहेकी एक वृद्धाको उद्धार गरिएको छ ।
मानव सेवा आश्रम वीरगञ्ज शाखाका संरक्षक प्रकाश थारु, देवेश गुप्ता लगायतको टोलीले वृद्धा महिलाको उद्दार गरेका हुन् ।
हातमा घाउ भएका कारण उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको छ । इमर्जेन्सीमा प्रारम्भिक उपचारपछि अर्थो वार्डको १२९ नम्बर बेडमा राखेर उनको उपचार भइरहेको सामाजिक अभियन्ता थारुले जानकारी दिए ।
अस्पतालमा उपचार गराइसकेपछि उनलाई मानव सेवा आश्रममा ल्याएर राखिने आश्रमका देवेश गुप्ताले बताए ।
Sponsored
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तव तथा प्रहरीले मानव सेवा आश्रमको टोलीलाई सहयोग पुर्याएका थिए ।
झण्डै एक महिनाअघि प्रहरीले नै उनलाई पथलैयाबाट उद्दार गरेर अस्पतालमा छोडेको थियो । अस्पतालमा रेखदेख गर्ने मानिस नहुँदा उनी अस्पतालबाट निस्केर हिँडेको नारायणी अस्पतालस्थित प्रहरी बिटले जानकारी दिइएको छ ।