TodayPati

सर्लाहीको लालबन्दीबाट ३ महिनामा ११ करोडको ‘टमाटर’ बिक्री

टुडेपाटी-

सर्लाही, फागुन १८ गते ।

कुनै बेला जिल्लाकै दुर्गम मानिने लालबन्दी अहिले करोडौंको गोलभेँडा निर्यात गर्ने शहर बनेको छ । पछिल्लो समय मुलुकमै गोलभेँडाको शहरका रुपमा चिनिने लालबन्दीबाट विगत तीन महिनामा ११ करोड रुपैयाँभन्दा बढीको गोलभेँडा निर्यात भएको छ ।

Sponsored

गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर गोलभेँडाखेती गर्दै आएका छन् । लालबन्दीमका ८० प्रतिशतभन्दा बढी जमीनमा गोलभेँडाखेती गरिँदै आएको छ । गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक गोलभेँडाखेतीतर्फ आकर्षित हुँदै आएका छन् । 

कृषि उपज बजार व्यवस्थापन समिति लालबन्दीबाट मात्र मंसिरदेखि माघसम्म अर्थात् तीन महिनामा ११ करोड २८ लाख ४४ हजार ५०० रुपैयाँको गोलभेँडा निकासी भएको छ । लालबन्दी बजारबाट मात्र तीन महिनाको अवधिमा व्यापारीले किसानसँग ५६ लाख ७१ हजार १०० किलो गोलभेँडा खरिद गरेर निर्यात गरेका छन् ।

माघ महिनामा मात्र लालबन्दी बजारबाट ३८ लाख ७८ हजार ५०० किलो अर्थात् ६ करोड २० लाख ५६ हजार रुपैयाँ बराबरको गोलभेँडा किसानसँग खरीद गरेर व्यापारीहरुले निर्यात गरेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष दरेश चौधरीले जानकारी दिए । माघमा गोलभेँडा प्रतिकिलो १२ देखि २० रुपैयाँमा किनबेच भएको छ ।

Sponsored

त्यस्तै, पुस महिनामा १४ लाख ४४ हजार १०० किलो अर्थात् तीन करोड २४ लाख ९२ हजार २५० रुपैयाँ बराबरको गोलभेँडा लालबन्दीबाट निकासी भएको छ । मंसिरमा भने तीन लाख ४८ हजार ५०० किलो अर्थात् एक करोड ८२ लाख ९६ हजार २५० रुपैयाँ बराबरको गोलभेँडा किसानसँग खरीद गरेर व्यापारीहरुले निकासी गरेको समितिले जनाएको छ । 

मंसिर महिनामा किसानले गोलभेँडाको प्रतिकिलो न्यूनतम ४५ देखि ६० रुपैयाँसम्म पाउने गर्दछन् भने पुसमा १० देखि अधिकतम ३५ रुपैयाँमा किनबेच हुने गर्दछ । फागुन लागेदेखि भने किसानले प्रतिकिलो अधिकतम १५ रुपैयाँसम्म मात्र पाउने गर्दछन् ।

घाम तात्दै अर्थात् गर्मी अत्यधिक बढ्दै गएपछि गोलभेँडा उत्पादन बढ्ने भएकाले किसानले फागुन लागेसँगै मूल्य भने अत्यन्त कम पाउने गरेका छन् । सर्लाहीबाट बाहिर निकासी हुने र जिल्लामै खपत हुने गोलभेँडाको मात्र गत विगत वर्षहरुमा एक याममा ३५ करोड रुपैयाँ हाराहारीमा कारोवार हुने गरेको थियो। गत वर्ष र यस वर्ष भने केही घटी हुने बताइएको छ । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको उत्तरी क्षेत्रस्थित ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर र वाग्मती नगरपालिका क्षेत्रका दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा गोलभेँडा खेती हुने गर्दछ । 

यसैगरी विगत तीन महिनामा सर्लाहीमा १५ करोड रुपैयाँभन्दा बढीको गोलभेँडा उत्पादन भएको छ । जिल्लाकै नवलपुर, सासापुर, हरिवनलगायत बजारबाट मुलुकका विभिन्न शहरमा निकासी हुने भएको तथा जिल्लाभित्रै आन्तरिक खपतको परिमाण अनुमान गर्ने हो भने यो तीन महिनामा १५ करोड रुपैयाँभन्दा बढीको गोलभेँडा सर्लाहीमा उत्पादन भएको जानकारहरु बताउँछन् । रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *