TodayPati

दुरूपयोगको नमुना जटही–जनकपुर ६ लेन सडक, कतै खानपिन त कतै आराम

टुडेपाटी

जनकपुरधाम, फागुन २९ गते ।

जटही–जनकपुर सडकखण्ड ६ लेनमा विस्तार भएसँगै बजारको चहलपहल बढेको छ। धनुषाको जटही भारतीय बजार पस्ने मुख्य नाका सो सडकखण्डमा तीव्र गतिमा हुइँकिने मालबाहक तथा यात्रुबाहक सवारीसाधनको लर्को नियमित हुन्छ। तर बस्ती सुरु हुनासाथ सुरु हुने सडक प्रयोगकर्ताको अनपेक्षित व्यवहारका कारण अपेक्षित सहरी सौन्दर्य कुरूपतामा परिणत भएको छ।

Sponsored

सो सडकखण्डमा ठाउँ–ठाउँमा आधासरो सडक छेकेर वैवाहिक कार्यक्रमका लागि पन्डाल सजाइन्छन्। विवाहको भोजभतेर पनि सडकमै हुन्छ। भोज खाएर जुठो थाली (पात) पनि सडकमै फ्याँकिन्छ। ६ सडकखण्डअन्तर्गतको नगराइन नगरपालिका–४ का स्थानीयले सडक छेकेर गाई–बाख्रा पालेका छन्। घाँसपरालसमेत सडकमै राखिएको छ। लत्ताकपडा सडक पेटीमै सुकाइन्छ। सडकमै खाट राखेर वृद्धहरू आराम गर्छन्। बालबच्चा पनि सडकमै खेल्छन् र खानपिनसमेत सडकमै हुन्छ।

जनकपुरधाम उपमहानगरपालिका–२२ देवपुरा रुपैटास्थित सडक छेकेरै हाट–बजार लाग्छ, जसका कारण प्रायः बेलुका सवारीसाधनको लामो जाम हुने गर्छ। धान, गहुँको बिस्कुन सडकमै सुकाइन्छ। निर्माण सामग्री, कृषि उपकरण, स्थानीयको सवारीसाधन सडकमै थन्क्याइन्छन्। किराना पसलका सामग्री र खाना पकाउने ग्यास, पानीको जारलगायत उपभोग्य वस्तु सडक ओगटेर बेच्न राखिएको हुन्छ।

सो सडकखण्ड लामो समयसम्म जीर्ण, हिलाम्य र धुलाम्य अवस्थामा थियो। ६ लेन सडक विस्तारको काम सकिन लागेसँगै स्थानीयले पुरानो दिक्दारीबाट छुटकारा पाउने अवस्था बनेको थियो तर विस्तारित सडक प्रयोगमा स्थानीय तथा व्यापारीको मनपर्दीका कारण यात्रुहरूले नयाँ ढंगको सास्ती पाउन थालेका छन्। निर्माणको अन्तिम चरणमा रहेको ६ लेन सडक चिल्लो र फराकिलो भए पनि सडक ढाकेरै गरिने घरेलु कामकाज र व्यापार–व्यवसायले यात्रा जोखिमपूर्ण बनेको बसचालक रविन्द्र साहले बताए। ‘सडक जति फराकिलो बनेको छ, उतिकै साँघुरिंदै गएको छ। सडकमा हुने सरसामान र व्यापारले बस चलाउन जोखिम छ। बच्चाहरू दिनभर सडकमै खेल्छन्, बाख्रा पनि त्यत्तिकै कुदेका हुन्छन्,’ साहले भने, ‘स्थानीयकै कारण कतिपटक ठूलो दुर्घटना हुनबाट बचेको छ तर ह्याभी गाडीले कतिखेर दुर्घटना होला ठेगान छैन।’

Sponsored

घरायसी कामकाज, हाट–बजार र वैवाहिक कार्यक्रमसमेत सडकमै आयोजना गरिंदा सडक निर्माणसम्पन्न नहुँदै कुरूप देखिन थालेको छ।

सडकमा जताततै फोहोर थुपारिन थालिएको छ। घरमा समेत ठाउँ हुँदाहुँदै भौतिक पूर्वाधार निर्माण सामग्री सडकमै थुपारिंदा सडक अस्तव्यस्त बनेको छ। तर यसलाई व्यवस्थित गर्नेतर्फ स्थानीय सरकार र जनप्रतिनिधिको ध्यान गएको देखिँदैन। स्थानीय तथा व्यापारीले फुटपाथ कब्जामा राखेकाले पैदल यात्री बीच सडकबाटै हिँड्न बाध्य छन्। ‘कताबाट हिँड्ने ? फुटपाथ त के आधाउधी सडक नै व्यापारी र स्थानीयले ढाकेका छन्,’ गंगुलीका विजेन्द्र यादवले भने, ‘बजार आउँदा ठक्कर खाएर मरिएला भन्ने हरपल त्रास हुन्छ। कसलाई कसले के भन्ने ?’

घरअगाडिको सडक त्यतिकै खाली रहेकाले घरायसी काममा उपयोग गर्दै आएको स्थानीयको भनाइ छ। ‘गाडी चल्न यति फराकिलो सडक छँदै छ। मैलेमात्र सडकमा सामान राखेको हुँ र ! जहिले भन्लान् उहिलेदेखि बाख्रा बाँध्दैनौं, कपडा सुकाउँदैनौं,’ स्थानीय अनिता मण्डलले भनिन्। स्थानीयले सडक छेकेरै घरेलु कामकाज र व्यापार–व्यवसाय गरिरहेको बारे स्थानीय जनप्रतिनिधि अनभिज्ञता प्रकट गर्छन्। ‘जनकपुर बजारतिरका सडक खाली गराउँदै छौं। ६ लेन सडकतिर हामी पुगेका छैनौं,’ जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रिता झाले भनिन्, ‘यदि त्यहाँ सवारी आवागमनमै समसया भइरहेको हो भने हामी छिट्टै सडक खाली गर्न खटिएको टोलीलाई त्यतातिर पठाउँछौं।’

त्यस्तै, नगराइन नगरपालिकाकी उपप्रमुख रन्जु साहले आफ्नो नगरपालिकामा नभई जनकपुर उपमहानगरपालिकामा पर्ने भागतिर स्थानीयले सडक अवरोध गरिरहेको बताइन्। ‘नगराइनमा पर्ने सडकखण्डमा मैले यस्तो देखेकी छुइनँ,’ उनले भनिन्, ‘यदि यहाँ कसैले सडक दुरुपयोग गरेको रहेछ भने चाँडै खाली गराइनेछ।’

रोहित महतो \नागरिक दैनिक

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *