TodayPati

आज संविधान दिवस : कतै कालो,कतै उज्यालो दिन

टुडेपाटी-
जनकपुरधाम, असोज ३ गते ।

आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् ।

Sponsored

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ ।
आज सबै नेपालीलाई घरघरमा दीपावली गरेर दिवस मनाउन सरकारले आह्वान गरेको छ ।

सरकारले संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइरहँदा मधेशका धेरै नागरिकले यो दिनलाई कालो दिनको रुपमा मनाइरहेका छन् । बन्दुकको नोकमा मधेशी सपुतको रगतमाथि टेकेर संविधान घोषणा गरेको दिनको सम्झनामा असोज तीनलाई कालो दिनको रुपमा मनाउने गरिन्छ ।

कतिपयले आफ्नो फेसबुक प्रोफाइल कालो तस्वीर तथा पोस्ट राखेर कालो दिन मनाइरहेका छन् । मधेशवादी दलसँग सम्बन्धित विभिन्न संगठनले पनि विभिन्न कार्यक्रम गरी कालो दिवस मनाइरहेका छन् ।

Sponsored

तराई–मधेश लोकतान्त्रिक पार्टीले असोज तीन गते कालो दिनको रुपमा मनाउने निर्णयलाई निरन्तरता दिने भएको छ । आज जनकपुरको भानुचोकमा ८ बजे बिहान कालो झण्डा गाड्ने र दिउँसो ४ बजे जनकचोकमा प्रतिगमनको पुत्ला जलाउने कार्यक्रम रहेको तमलोपाको प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *