दररेट भन्दा महगोमा खुलेआम पेट्रोल र डिजेल बेच्दै ममता आयल सेन्टर
टुडेपाटी-
जनकपुरधाम, माघ २६ गते ।
सिन्धुलीको भिमानको ममता आयल सेन्टरले सरकारले तोकेको दररेटभन्दा महँगोमा पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्दै आएको पाइएको छ ।
कमलामाई नगरपालिका ९ भिमानस्थित गणेश सिलवालले सञ्चालन गरेको ममता आयलले जहिले पनि सरकारले तोकेको दररेटभन्दा महँगोमा उपभोक्तालाई डिजेल पेट्रोल बेच्दै आएको स्थानीयले बताएका हुन् ।
नेपाल आयल निगमले धनुषाको महेन्द्रनगर डिपोअन्तर्गत पर्ने पेट्रोल पम्पहरुलाई पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ ५० पैसा र डिजेल ९१ रुपैयाँ ५० पैसा दररेट तोकेको छ।
तर ममता आयलले पेट्रोल र डिजेल दुवैमा प्रतिलिटर एक रुपैयाँ महँगोमा उपभोक्तालाई खुलेआम बेचिरहेका छन् । उपभोक्ताबाट अनधिकृत मूल्य लिँदा अनुगमन र नियमन गर्ने सम्बन्धित निकाय मूकदर्शक बनेका छन् ।
अन्य दिनमा पनि आयल निगमले तोकेको दररेटभन्दा बढीमा ममता आयल सेन्टरले पेट्रोल र डिजेल बिक्रीवितरण गर्ने गरेको उपभोक्ताहरुको गुनासो छ ।
सञ्चालक गणेश सिलवाल राजनीति पहुँच र पावरको आडमा कसैलाई टेर्ने नगरेको तथा उपभोक्ता ठग्दा पनि कुनै कारबाही नभएको एक स्थानीयले बताए ।
Sponsored
यता सञ्चालक सिलवालसँग सरकारले तोकेको दररेटभन्दा महँगोमा किन पेट्रोलियम पदार्थ बेचेको भन्ने प्रश्नमा आफू गाडीमा भएको बहानाबाजी गर्दै उनले फोनमा कुरा गर्न मानेनन् ।
‘यो कुरा फोनमा हुँदैन । दुई दिनपछि पम्पमै आउनुस्। अनि मात्र कुरा गरौँला’, टुडेपाटीसंग उनले यति कुरा भन्दै फोन काटे ।
नेपाल आयल निगम डिपोका प्रमुख मनोज कुमार साहले ममता आयल निगमले महँगोमा डिजेल पेट्रोल बेच्ने गरेको भेटे कारबाही गर्ने बताए ।
महेन्द्रनगर डिपोअन्तर्गतको पेट्रोल पम्पहरुमा पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ ५० पैसा र डिजेल ९१ रुपैयाँ ५० पैसा प्रतिलिटर तोकिएको डिपो प्रमुख साहले जानकारी दिए ।
उनले भने, ‘दररेटभन्दा बढी मूल्यमा डिजेल पेट्रोल बेचेको प्रमाण भेट्यो भने हामी प्रशासन, नापतौल विभागसँगै अनुगमन गरेर प्रमाणको आधारमा कारबाही गर्छौँ ।’