रौतहटमा गहुँ खेतमा राखिएको विद्युतीय धरापमा परेर युवकको ज्यान गयो
टुडेपाटी-
रौतहट, माघ २६ गते ।
रौतहटमा जंगली जनवारहरुबाट बाली जोगाउन गहुँ खेतमा राखिएको विद्युतीय धरापमा परेर एक युवकको मृत्यु भएको छ । चोरी गर्न गएका युवक भाग्ने क्रममा करेन्ट प्रवाह भएको तारमा अल्झिएका थिए ।
गत बिहीबार वृन्दावन नगरपालिका ९ भुसहामा मृत अवस्थामा भेटिएका गुजरा नगरपालिका ७ का रितु महराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
वृन्दावन ९ भुसहाका महम्मद आलमको घरमा चोरी गर्न गएका रितु महरालाई घरधनीले लखेटेपछि लमहा नदी तरेर भाग्ने क्रममा उनी खेतमा जोडिएको करेन्टमा अल्झिएका थिए ।
जनावर धपाउन राखेको विद्युतीय तारमा बिहान महरालाई मृत अवश्थामा देखेपछि खेतधनी मसकुर आलमले आफ्नो खेतको वरिपरि लगाएको तार हटाएर एक सय मिटर दक्षिण शेख मोजैरको गहुँ खेतमा शव राखेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए । मृतक युवक पहिलेदेखि नै विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको र मुद्दा समेत चलेको व्यक्ति रहेको उनले बताए ।
खेतमा तार जोडर करेन्ट प्रवाह गर्ने र शव अर्काको खेतमा लगेर राख्ने मसकुर आलमलाई ज्यानसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Sponsored