सप्तरीमा कोभिसिल्ड खोप पहिलो चरणमा ९८.३७ प्रतिशतले लगाए
टुडेपाटी-
सप्तरी, माघ २६ गते ।
भारत सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको कोभिसिल्ड खोप अभियान अन्तर्गत सप्तरीमा पहिलो चरणमा ९८ दशमलव ३७ प्रतिशतले खोप लगाएका छन् । प्रदेश २ का सबै जिल्लामा १४ माघदेखि अग्रमोर्चामा रहेर कार्य गरिरहेकालाई खोप लगाउने कार्य सुरु भएको थियो । जसअनुसार सप्तरीमा ३ हजार ६९३ जनाले खोप लगाएका हुन् ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट २ हजार ५९८ र रूपनीस्थित प्रहरी अस्पतालबाट १ हजार ९५ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । सप्तरीमा पहिलो खोप गजेन्द्रनारायण सिंह अस्पतालकी स्टाफ नर्स सुनिता यादवले लगाएकी थिइन् भने पहिलो चरणअन्तर्गत खोप स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले लगाएका छन् ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवका अनुसार दोस्रो चरणमा १ फागुनदेखि विभिन्न ११ वटा कार्यालयका कर्मचारी र सञ्चारकर्मीलाई खोप लगाउने तयारी भइरहेको छ ।
पहिलो चरणतहत ८ सय ३३ भाइल अर्थात् ८ हजार ३३० डोज खोप उपलब्ध भएको थियो भने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारी गरी पहिलो चरणमा कुल ३ हजार ७५४ जनालाई खोप लगाउने तालिका थियो ।
बाँकीलाई पनि दोस्रो चरणमै खोप लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवको भनाइ छ ।
Sponsored
अनुदानमा भारत सरकाले नेपालालाई १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएका थिए । त्यस्तै आजदेखि दोश्रो चरणको खोप अभियान सुरु भएको छ । दोश्रो चरणमा पत्रकार तथा कुटनीति नियोगका पदाधिकारीलाई लगाइने छ ।