विद्यार्थीहरुले गरे बरहथवा नगरपालिका कार्यालयमा तोडफोड
टुडेपाटी-
सर्लाही, माघ १६ गते ।
विद्यार्थीहरुले सर्लाहीको बरहथवा नगरपालिका कार्यालय तोडफोड गरेका छन् ।
आफ्नो माग पूरा नगरेको भन्दै बरहथवा–५ मा रहेको चक्र जनता सहिद गंगा माध्यमिक विद्यालयका विद्यार्थीहरुले बरहथवा नगरपालिका कार्यालयमा शुक्रबार तोडफोड गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक र विद्यार्थीबीच भएको विवादका कारण नगरपालिका कार्यालयमा तोडफोड भएको हो ।
नाराबाजी गर्दै नगरपालिका कार्यालय परिसर पुगेका विद्यार्थीहरुले कार्यालयमा रहेको दराज, गमला, होर्डिङ बोर्ड, झ्यालको सिसा तोडफोड गरेको कार्यालयले जनाएको छ ।
विद्यार्थीले गरेको ढुंगामुडाबाट नगरपालिकाका प्रशासन शाखा प्रमुख कमलप्रसाद पौडेलले चड्ने गरेको बा २० च ९३३७ नम्बरको कारको सिसा समेत फुटेको छ ।
Sponsored
तोडफोडको क्रममा केही विद्यार्थीसमेत घाइते भएका छन् । विद्यार्थीको प्रदर्शनलाई इलाका प्रहरी कार्यालय बरहथवाले व्यापक प्रहरी परिचालन गरी नियन्त्रण गरेको थियो ।
तोडफोडको क्रममा दुईजना विद्यार्थी घाइते भएका छन् । घाइते एक विद्यार्थीको टाउको र अर्को एक जनाको खुट्टामा चोट लागेको छ ।
प्रत्येक वर्ष विद्यालय र नगरपालिकाले शैक्षिक भ्रमणका लागि रकम छुट्याउने गरेको तर यस वर्ष रकम छैन भनेर प्रधानाध्यापकले बाहिरको मान्छे लगाएर आफूहरुलाई कुटाउने धम्की दिइरहेको विधार्थीहरुको आरोप छ ।
विद्यार्थीहरुले लेखा शाखा र प्रधानध्यापकको कार्यकक्षमा तोडफोड गरेका छन् । तोडफोडबाट कागजात, दुईवटा कम्प्युटर, कुर्सीलगायतका अन्य सामान तोडफोड गरेका विद्यालयले जनाएको छ ।