सूचना हकको वेवस्ता गर्ने विदेह नगरपालिकालाई ७ दिनभित्र जवाफ पेश गर्न आदेश
टुडेपाटी-
जनकपुरधाम, माघ १५ गते ।
सूचनाको हकलाई बेवास्ता गर्ने धनुषाको विदेह नगरपालिका कार्यालयसंग राष्ट्रिय सूचना आयोगले लिखित जवाफ माग गरेको छ ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गरुङ्ग र सूचना आयुक्त रत्न प्रसाद मैनालीको संयुक्त इजलासले विदेह नगरपालिका कार्यालयलाई सूचना उपलब्ध नगराउनुका कारणसहितको जवाफ ७ दिन भित्र पेश गर्न आदेश दिएको हो ।
जनकपुरका पत्रकार समेत रहेका धनुषाको बटेश्वर गाउँपालिका २ निबासी शैलेन्द्र महतो ‘क्रान्ति’ले विदेह नगरपालिका कार्यालय विरुद्ध आयोगमा गरेको पुनरावेदन उपर सुनुवाई गर्दै आयोगले यस्तो आदेश गरेको हो ।
पत्रमा लेखिएको छ ‘पुनरावेदक महतोलाई सूचना उपलब्ध गराउनु भन्ने आदेश दिन नपर्नाको कुनै कारण भए सोको आधार र प्रमाण सहित बाटोको म्याद बाहेक ७ दिन भित्र आयोग समक्ष लिखित व्यहोरा पठाउनू भनी विपक्षीका नाममा यो आदेश जारी गरिएको छ’
पत्रकार ‘क्रान्ति’ले गएको कार्तिक ५ गते कार्यालयसंग विकास तथा कार्यालय प्रयोजनमा भएको खर्च विवरण सहितको सूचना माग गर्दै अध्ययन तथा समाचार प्रयोजनको लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा दफा ३ बमोजिम निवेदन दर्ता गराएका थिए ।
Sponsored
तर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत संजिव साहले आफुले सूचना दिन नसक्ने भन्दै पन्छिदै मेयर वेचन दाससंग सूचना लिन भनेका थिए । त्यस पश्चात पत्रकार क्रान्तिले राष्ट्रिय सूचना आयोगमा विदेह नगरपालिका कार्यालय विरुद्ध पुनरावेदन गरेका थिए ।