सप्तरीमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, स्टाफ नर्सले लगाइन् पहिलो खोप
शुभ नारायण यादव-
सप्तरी, माघ १४ गते ।
सप्तरीमा कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले बुधबार गजेन्द्र नारायण सिंह अस्पतालमा आयोजित एक कार्यक्रमबीच अभियानको उद्घाटन गर्दे अस्पतालकी स्टाफ नर्स सुनीता यादवले पहिलो खोप लगाएकी छन् ।
जिल्लामा पहिलो चरणमा ३ हजार ७ सय ५४ जनालाई खोप लगाउने योजना रहेको छ । मन्त्री साहले अभियानको उद्घाटन गरेपश्चात् सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झालगायतका चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववहानका चालक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी र सफाइकर्मीले खोप लगाएका हुन् ।
मन्त्री साहले यो खोप जीवनरक्षाका लागि सुरक्षित भएको भन्दै निर्धक्क भई लगाउन आग्रह गरे । उनले भने, ‘यो सुरक्षित छ, कुनै शंका नगरि ढुक्क भई लगाउनुहोस् ।’
खोप बारे विभिन्न भ्रामक हल्ला चलाइएको प्रंसङ्ग कोट्याउँदै उनले त्यस्तो हल्लाको पछाडी नलाग्न सबैलाई आग्रह पनि गरे ।
मन्त्री साहले सबैलाई आश्वस्त पार्न स्वास्थ्यकर्मीहरुबाटै खोप लगाएर अभियानको सुरुवात गरिएको बताए ।
Sponsored
भारत सरकारले पहिलो पटक १० लाख डोज “कोभिशिल्ड” खोप नेपाललाई उपहार स्वरुप उपलब्ध गराएपछि देशैभर एकैदिन कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको हो ।
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल र रुपनी गाउँपालिकास्थित ठाकोदेबी जोगेन्द्र भगत प्रहरी अस्पतालमा गरि दुई स्थानको खोप केन्द्रबाट कोरोना बिरुद्धको खोप अभियान संचालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
सप्तरीमा हालसम्म कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ४१ रहेको छ भने १ हजार ८ सय ३० जना संक्रमित भएका छन् । संक्रमित सबै निको भई घर फर्किएपछि हाल संक्रमितको संख्या शुन्यमा झरेको छ ।