TodayPati

अव्यवस्थित पार्किङले अस्तव्यस्त जनकपुर, जामले सर्वसाधारण आजित

रोहित सिंह

जनकपुरधाम, फागुन २५ गते ।

व्यवस्थित पार्किङको अभावले प्रदेश २ को राजधानी जनकपुरका सडक अस्तव्यस्त बनेको छ। सडक फराकिलो भए पनि व्यवस्थित पार्किङको अभाव र फितलो ट्राफिक व्यवस्थापनका कारण दिनहुँ हुने जामले सर्वसाधारण आजित बनेका छन्।

Sponsored

मुख्य सडकमा जथाभावी पार्किङ र ट्राफिक नियम उल्लङ्घनका कारण यात्रुका साथै पर्यटकलाई समेत समस्या भएको छ। रामानन्द चोक–अस्पताल रोड, जानकी चोक–जनक चोक, शिव चोक–भानु चोक, स्टेसन एरिया–मुरली चोक सडकखण्डमा अव्यवस्थित गाडीको लामो लर्को देखिए पनि कहीँकतै ट्राफिक प्रहरी देखिँदैन। सडकमा ठेला व्यापारका कारण पनि आवतजावतमा उत्तिकै कठिनाइ भोग्नुपरेको सर्वसाधारणको गुनासो छ।

जनकपुरको सबैभन्दा व्यस्त सडक मानिने रामानान्द चोक–अस्पताल रोड सडकखण्डमा दर्जनौं निजी क्लिनिक तथा हस्पिटल सञ्चालन भए पनि कहीँकतै पार्किङ सुविधा छैन। बजार क्षेत्रमा पार्किङस्थल नभएका कारण ट्राफिक अस्तव्यस्तताले बजारमा सामान किन्न आउनेले पसल अगाडि नै सवारीसाधन पार्किङ गर्दा सर्वसाधारण एवं व्यापारीलाई समस्या हुने गरेको छ।

यात्रुले हिँड्नै नमिल्ने गरी सडक पेटीमा व्यापार सञ्चालन गरेकाले सास्ती भएको छ। छाडा चौपायालेसमेत ट्राफिक व्यस्थापनमा चुनौती थपेको छ। प्रहरीका अनुसार खुल्ला छाडिएका गाइवस्तु र सुँगुरका कारण दिनहुँ दुर्घटना हुँदै आएका छन्।‘जिल्लाभरि गाडीको चाप बढ्दो छ। तर, हामीसँग जनशक्ति छैन। २-३ जना सधैँ कुनै तालिममै हुन्छन्। कोही बिदामा हुन्छन्।’

Sponsored

‘नो पार्किङ’ का ठाउँमा पनि ट्राफिक नियमको धज्जी उडाउँदै स्थानीय इ–रिक्सा, अटो, लामो तथा छोटो दूरीमा चल्ने बस, ट्रक, भ्यानलगायतका सवारी साधन जताततै पार्किङ गर्नाले समेत दुर्घटना निम्त्याउने गरेको छ। सडकै ढाक्ने गरी हुने पार्किङले जनकपुरमा दुर्घटनाको जोखिम पनि बढेको छ। चिल्लो फराकिलो सडकमा तीव्र गतिमा गाडी गुडाउँदा दुर्घटनाको जोखिम बढेको हो। व्यवस्थित पाकिङस्थलको अभावमा जथाभावी सवारीसाधन राख्नाले व्यापारिक तथा पर्यटकीय नगरी जनकपुरको सौन्दर्य मासिएर कुरूप बन्दै गएको हुँदा व्यवस्थित पार्किङस्थल निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ।

जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापन हुन नसकेको धनुषाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक परशुराम घिमिरेले बताए। ‘भीडभाड हुने, जाम लाग्ने कुरा हामीलाई पनि थाहा छ। तर, के गर्ने? हामीकहाँ जनशक्ति नभएर व्यवस्थापन गर्न सकेका छैनाँै,’ उनले भने। प्रहरी निरीक्षक घिमिरेका अनुसार ट्राफिक प्रहरी कार्यालय धनुषामा हाल ६२ जना प्रहरी कार्यरत छन्।

‘जिल्लाभरि गाडीको चाप बढ्दो छ। तर, हामीसँग जनशक्ति छैन। २-३ जना सधैँ कुनै तालिममै हुन्छन्। कोही बिदामा हुन्छन्,’ प्रहरी निरीक्षक घिमिरेले थपे। जनशक्ति नहुँदा बढ्दो सवारी चाप र ट्राफिक नियम उल्लङ्घनले व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ। छाडा चौपायाको सङ्ख्या धेरै भएकाले नगरपालिकासँग समन्वय गरेर नियन्त्रणको प्रयास गरे पनि सफल हुन नसकेको उनले बताए।

रोहित सिंह

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । Facebook मा उहाँलाई भेट्न सक्नु हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *