चुरे दोहनले संकटग्रस्त बन्दै मधेस, जनताको आवाज सुन्दैनन् सरकार
टुडेपाटी
जनकपुरधाम, फागुन २० गते ।
चुरे दोहनविरुद्ध वर्षौंदेखि आवाज उठिरहेको छ। संरक्षणको माग गर्दै स्थानीय नागरिक सडकमा उत्रिन्छन्। तर, सरकारले नसुनेपछि चुरे झनै विनाशतर्फ अग्रसर हुँदै गएको छ।
सङ्घीय सरकारले गौरवको योजनाअन्तर्गत राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरेको छ, तर संरक्षित क्षेत्रमै दिनदहाडै दोहन भएको देख्दा स्थानीय चिन्तित बनेका छन्। राजनीतिक दल, प्रहरी, प्रशासन र जनप्रतिनिधकै मिलिमतोमा अवैध उत्खनन् भएको घटना दिनहुँ सञ्चारमाध्यममार्फत तथा गाउँ-गाउँमा सुनिए पनि रोक्न सरकारले ध्यान नदिएको चुरे संरक्षण समिति मिथिला नगरपालिका अध्यक्ष नन्द सिलवालले आरोप लगाए। चुरे विनाशले मधेस मरुभूमि बन्ने अवस्थामा पुगेको उनले बताए।
पहिले तत्कालीन जिल्ला विकास समितिले खोलानालाको ठेक्का लगाउँथ्यो। दुई वर्ष यतादेखि स्थानीय सरकारको मातहातमा खोलानाला परेको छ। स्थानीय तहले ठेक्का लगाउने र जिल्ला समन्वय समिति (जिसस)ले खोलाको अनुगन गर्ने गरी अधिकार बाँडफाँड गरिएको छ।
स्थानीय तहले ठेक्का लगाउँछ, तर कति र कसरी उत्खनन् हुँदैछ भन्ने अनुगमन जिससले गरेको पाइँदैन। अवैध उत्खनन् र क्रसर बन्द गराउन जिससबाट भएका निर्णय कार्यान्वयन हुँदैन।
प्रहरीले चुरेका खोलानालामा हुने अवैध उत्खनन्काे नियमनमा असहयोग गर्ने गरेको सरोकारवला बताउँछन्। प्रदेश-२ का बासिन्दाले चुरे दोहनको विषयमा २०७५ माघ ४ गते प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलाई मन्त्रालयमै पुगेर ध्यानार्षण गराएका थिए। स्थानीयको ध्यानार्षणपत्र बुझ्दै मन्त्री सोनलले चुरे संरक्षणप्रति सरकार गम्भीर रहेको बताएका थिए। तर, उनको त्यो गम्भीरता व्यवहारमा देखिएको छैन। प्रदेशका प्रदेश संसदीय समितिले स्थलगत अनुगन गर्दा पनि त्यसको प्रभाव छैन।
Sponsored
प्रहरीको साँठगाँठमा अवैध उत्खनन्
स्थानीयका अनुसार तस्करले सरकारी निकायका अधिकारी, प्रहरी प्रशासन लगायतलाई मासिक नजराना दिएर ढुङ्गा, बालुवा, गिटी ओसार्न सेटिङ मिलाइदिन्छ। गैरकानुनी काम रोक्न तैनाथ प्रशासन तस्करीका लागि बाटो खुल्ला गर्छन्। त्यसका विरुद्ध जनताले जतिसुकै आवाज उठाए पनि सरकारका निकायले सक्रियता देखाउँदैन, तैँ चुप, मै चुप हुन्छन्।
‘प्रहरीको आँखै अगाडि अवैध खोला उत्खनन् भइरहेको हुन्छ। स्थानीयले प्रहरीलाई खबर गर्छ, प्रहरी बाटोमै हुँदा टिप्पर, लोडर खोलाबाट भगाइन्छ , तस्करलाई ‘प्रहरी आउँदैछ’ भन्ने कसरी थाहा हुन्छ?,’ प्रदेशसभा सदस्य शत्रुधन महतो भन्छन्, ‘क्रसरमा नेता, सांसद, मन्त्रीको लगानी छ।’ उनका अनुसार तस्करले प्रहरीलाई पहिला किन्छ, गाउँको बेरोजगार युवालाई दिनहुँ दारु-मासु र पकेट खर्च दिन्छ। प्रहरीको आड र कुण्डलेमुण्डलेको बाहुबलमा चुरे दोहनको खेती फस्टाएको उनको आरोप छ।
‘जहाँ-जहाँ क्रसर सञ्चालनमा छ, त्यस गाउँमा माफियाले गुट-गुट बनाएर युवाहरूलाई राखेका छन्,’ प्रदेशसभा सदस्य महतो भन्छन्, ‘उनीहरू सबै ठेकेदार, क्रसरवालाको संरक्षण गर्न वरिपरि खटिएका हुन्छन्। समाजमा गुण्डागर्दी गर्दै गाउँलाई डरत्रास देखाउन पछि पर्दैनन्।’
दोहनले सङ्कटग्रस्त बन्दै मधेस
चुरेभार क्षेत्रमा चैतदेखि असारसम्म खानेपानीको चरम अभाव हुन्छ। चुरेको अवैज्ञानिक उत्खनन्ले खानेपानीको स्रोत मासिँदै गएको छ। साउन लाग्नेबितिकै चुरेको खहरे खोलामा ठूलो बाढी आउँछ। जथाभावी नदी पदार्थ झिक्दा खोलाले बग्ने बहाव फेर्छ। उर्लेर आएको बाढीले खेत कटान गर्छ, गाउँ नै बगाउँछ। जनताको उठीबास लाग्छ। चुरेको दोहोन गरेर ‘माफिया’ मालामाल हुँदा स्थानीयको सँधै बेहाल हुने गरेको छ।
अवैध उत्खनन्ले बर्सेनि बाढीले खेत कटान भइरहेकोले त्यस्तो कार्य रोक्न गएका श्रीपुरका चुरे संरक्षण अभियन्ता दीलिप क्रसर सञ्चालकबाटै मारिए। तराईका ३६ जिल्लामा १ सय ६४ वटा खोला छन्। अनियन्त्रित दोहनले प्रत्येक वर्ष ३ हजार ९ सय बिघा खेतीयोग्य जग्गा बाढीले कटान गरेर मरूभूमि बनाउँदै आएको छ।
प्रदेश २ मा दोहन बढेपछि चुरेभावर सङ्कटमा परेको छ। विशेषगरी महोत्तरी, धनुषा, सिरहालगायत तराई मधेसका भावर क्षेत्र कुरूप बन्न थालेको छ। चुरे विनाशले जल, जमिन, जङ्गल, जीवजन्तु र जनताको जीवनसमेत सङ्कटमा पारेको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले सुनाए।