‘कोन तालपर डम्फू बाजे, कोन ताल मृदङ्ग, कोन तालपर गोरिया नाचे, कोन तालपर हम ! जोगिरा सररर..!’
राजा झा
जनकपुरधाम, फागनु २० गते ।
“कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?
कौन तालपर गोरिया नाचे कौन तालपर हम ?
जोगीरा सर र र…!!!”
मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुबिच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश सञ्चार हुने गर्ने गर्छ। होली पर्व र संगीत बिच गहिरो सम्बन्ध हुन्छ। संगीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन। भनिन्छ होली पर्व मन भित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो।
कुण्ठत विचार र मनभित्र दवेका विचारलाई प्रस्फुटित गर्ने सबैभन्दा उत्तम माध्यम नै मिथिलाञ्चलमा गाइने जोगिरा गीत हो । पहिले पहिले श्रीपञ्चमी (सरस्वती पूजा) देखि नै गाउँ-घरमा जोगिरा गुन्जिने गर्थ्यो तर पछिल्लो समय बढेको आधुनिकतासँगै यस्ता जोगिराहरु लोप हुन थालेको छ । एका तर्फ जोगिरा लोप हुँदै गएको छ भने अर्को तर्फ अस्लिल भोजपुरी होलीको गीतहरु गुञ्जिन थालेको छ।
‘यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ..न जोगिरा..का स्वर नै सुनिन्छन्न् !’ वर्षौंदेखि जोगिरा गाउँदै आएका गौशाला-२ का रामलखन साह बताउँछन्।
उनले भने, ‘मेरा समूहका धेरै साथी मरे, कोही बुढा भएर थलिएका छन, अझै गाउने त रउस छ, तर साथ दिने कोही छैनन्।’वसन्त पञ्चमीसँगै होली (फागु) पर्वको सन्देस छर्ने जोगिरा..(फागु गीत) अब सुनिन छाडेपछि महोत्तरी सहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ।
Sponsored
तिथिमिति सम्झना नराख्नेका लागि पनि होली शुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, हारमोनियम र डम्फू (फागु गीतका वाद्यवादन) का तालमा सुनिने जोगिरा गीत गाइने परम्परा एक दशकयता सुन्न छाडिएको छ।
आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीक मानिने फागु (होली) पर्वमा हास-परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिविम्ब हुने जोगिरा..सुन्न छाडिएपछि यो पर्व आएको छनक नै हुन छाडेको छ।
संस्कृतिको सम्झनामात्र नभइ त्यो प्रतिको समर्पण भाव, भक्तिका लयमात्र नभई रतिराग, दुःख र जीवनका तिता अतित बिर्साउने रउस र अबीर एवं रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको जनकपुरधामका रमेश झा बताउँछन्। अब नयाँ पुस्ताले पुराना संस्कृति बिर्सदै गएपछि आउने पुस्ताले जोगिरा भन्ने कुरा इतिहासमा मात्र पढ्न सक्ने झाको चिन्ता छ।
किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबीर झोरी ?
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी‘!!
जोगिरा..सररर..!!’
(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबीरको झोला ? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबीरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रउस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) अब मिथिलाञ्चलमा सुनिन छाडेका छन्।
‘कोन तालपर डम्फू बाजे,
कोन ताल मृदङ्ग,
कोन तालपर गोरिया नाचे,
कोन तालपर हम..!! जोगिरा सरररररररर..!!’
(डम्फू कुन तालमा बज्छ, मादल कुन तालमा बज्छ ? अनि गोरी कुन तालमा र म कुन तालमा नाच्छु ?) होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन्।
सामाजिक छुवाछूत, उचोनिचो जात र भिन्नभिन्न धर्मसंस्कृतिप्रति परहेज गर्ने पनि एक अर्कोलाई अंकमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । तर, यसको सौन्दर्यको महत्वपूर्ण अंग जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको शुभाष कर्णले चिन्ता व्यक्त गरे।
ख्यालठट्टा गरिने नाताबीचका नवयौवनामात्र नभइ होलियाबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन। मिथिलाञ्चलमा बसन्तपञ्चमीदेखि होली गीत (जोगिरा) शुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबीर खेलेपछि होली पर्व मनाइन थालिने परम्परा छ।