उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
टुडेपाटी-
जनकपुरधाम, मंसिर ६ गते ।
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । सप्तमीका दिन अर्थात शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न भएको हो । आजको दिनलाई पारन पनि भनिन्छ ।
तलाउ, पोखरी वा नदी छेउमा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई चढाएका हुन् ।
अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ ।
सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै छठ पर्व अत्यन्त श्रद्धा एवं निष्ठापूर्वक मनाइन्छ ।
Sponsored
चारदिनसम्म मुख्य विधि गरि मनाईने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोश्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने, तेश्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्व समापन हुने परम्परा रहेको छ । छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ । पारनको दिन सूर्यदेवलाई चढाएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा छठ नहुनेहरुलाई प्रसादको रुपमा वितरण गर्ने प्रचलन रहेको छ ।
छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जुन यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटो स्वीकार गर्नुृ हो ।
धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।
आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्बरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।
छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।