TodayPati

देशैभर शहरदेखि गाउँसम्म उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व समापन

टुडेपाटी-
जनकपुरधाम, मंसिर ६ गते ।

मिथिलाञ्चलसहित तराई-मधेसमा उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । शहर र देखि गाउँसम्म श्रद्धा, निष्ठा, आस्थाको कठोर महापर्व छठ पर्व व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई  विधिवत रुपमा सम्पन्न गरेको हो ।

मूल विधि चतुर्थीमा सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउँदो र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पूजाअर्चना गरिएपछि छ्ठ पर्व पूरा हुने परम्परा छ । 

Sponsored

तलाउ, पोखरी वा नदी छेउमा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई चढाएका हुन् ।


अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ ।

सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

Sponsored

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जुन यसको महत्वपूर्ण पक्ष हो ।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटो स्वीकार गर्नुृ हो ।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्बरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ। सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

कोरोना संक्रमणको त्रास भए पनि जनकपुरमा बेहुलीझैं सिंगारिएका पोखरी र तलाउमा नववस्त्रमा सजिएका श्रद्धालुको भीड दर्शनीय रहेकाे छ भने धनुषाको उत्तरी ग्रामीण परिवेश बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका लगायतमा पनि छ्ठ पर्व हर्षोल्लास पुर्वक मनाइएको छ । शहरी परिवेशमा नदी, तलाउ, पोखरी लगायतका जलाशयमा छठ मनाइन्छ भने ग्रामीण भेगमा इनार तथा घर अगाडि जलाशय स्थल निर्माण गरी सरसजाबटसहित छ्ठ मनाइन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *