ग्रामीण छठ पर्वको छुट्टै रौनकता !
नितेश यादव-
जनकपुरधाम, मंसिर ५ गते ।
श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका लागि शहरी परिवेशसँगै महोत्तरीको ग्रामीण परिवेशमा पनि हर्सोल्लासका साथ मनाउन जलाशयमा घाट निर्माण काम सम्पन्न भएको छ ।
महोत्तरीको बर्दिवास नगरपालिका-९ विजलपुरामा युवाको सक्रियतामा छठ पर्व गर्न जलाशयमा घाट निर्माण गर्न काम सम्पन्न भएको हो ।
शुक्रबार छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन इनार, दुरामा खाल्डो बनाई जलाशय निर्माण गरिएको छ । छठ विधिवत रुपमा चार दिन सम्म मनाइने पर्व हो ।
पहिलो दिन बुधबार नुहाएर चोखो खाने गरिन्छ । जसलाई ‘नहाय-खाय’ भनिन्छ । दोश्रो दिन साँझ ‘खरना’ गरिन्छ । खरनामा प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ब्रतालु र परिवारका सदस्यले समेत ग्रहण गरिन्छ ।
तेश्रो दिन अर्थात मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन भोलि बिहान उदाउँदो सूर्यको अर्घ दिई छठपर्व विधिवत रुपमा समापन हुन्छ ।
छठ पर्व किन गरिन्छ ?
Sponsored
छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।
छठमा के के चढाइन्छ ?
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।
शहरी र ग्रामीण छठ पर्वबीचको भिन्नता
शहरी क्षेत्रमा पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् ।
त्यस्तै, ग्रामीण परिवेशमा कतिपय ईनारमा घाट बनाएर छठपर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन् । बिहान पख सूर्य उदाउनु केहि बेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ दिने गर्दछन् । उदाउँदो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् ।
छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्त्याए खुवाउनुको साथै घरमा समेत पुर्याएदिन्छ भने छोरी, बहिनीको घरमा प्रसाद स्वरुप छठ पर्वमा चढाइएको सामाग्रीहरु कोसेली स्वरूप पुर्याउने प्रचलन छ ।
अप्रान्ह लाग्ने औरही बजारमा बिहानैदेखि किनमेन गर्नेको भिडभाड
महोत्तरीको औरही नगरपालिका-१ स्थित औरही बजारमा किनमेल गर्नेको बिहानैदेखि भिडभाड देखिएको छ । अन्य दिन अप्रान्ह लाग्ने औरही बजार आज बिहानैदेखि लागेको थियोे । सामान बेच्न व्यापारीलाई भ्याइनभ्याई थियोे ।
बजार पूजाको सामग्री किन्ने, तरकारी किन्ने लगायत सैलुनसम्ममा भिडभाड देखिएको हो । यो बजार हप्ताको दुई दिन मंगलबार र शुक्रबार लाग्ने गर्छन् ।