TodayPati

प्रदेश २ मा पनि नेकपाभित्र विवादै विवाद : पार्टीभित्रै आक्रमणदेखि मुद्दामामिलासम्म

रोहित महतो

जनकपुरधाम, कार्तिक २९ गते ।

एकीकरणपछि जिम्मेवारी बाँडफाड तथा शक्ति संघर्षले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ मा चुलिएको विवाद यतिखेर उत्कर्षमा पुगेको छ ।

Sponsored

तत्कालीन एमाले र माओवादीबीच भएको एकीकरणलगत्तै पदीय भागबाण्डाकालागि सुरु भएको विवाद पर्सामा हिंस्रक घटनाकै रूप लिएपछि स्थानीय स्तरदेखि केन्द्रसम्मै नेकपाको विवाद छताछुल्ल भएको छ ।  

विन्दाबासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा नेकपाकै दुईपक्षबीच भएको झडपको क्रममा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या काण्डले मुलुककै ध्यान प्रदेश २ को नेकपाले खिच्यो । चौरसिया हत्याको घटनामा प्रधानमन्त्री केपी ओलीको हस्तक्षेपका कारण जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गर्न नमानेपछि सरकारी वकिलको कार्यालयबाट मृतकका भाइले ओली पक्षका ११ जना नेताकार्यकर्तामाथि मुद्दा दर्ता गराएका छन् । 

घटनामा संलग्न भएको आरोप लागेका तीन जना अभियुक्त पक्राउ परेका छन् भने पूर्व सभासद राजकुमार गुप्तासहित ८ जना फरार छन् । तर, नेकपाका अर्काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षीय नेताले घटनामा संलग्न नभएकाहरूलाई समेत फसाउन खोजेको भन्दै अभियुक्त भनिएका नेकपा नेता चिन्टु तिवारीकी श्रीमतीले नेकपाका प्रदेश सहइञ्चार्ज नागेन्द्र चौधरी, पर्सा ईञ्चार्ज रामचन्द्र साह, प्रदेश कमिटी सदस्य छोटेलाल यादवलगायत १५ जना विरुद्ध सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दर्ता गराएकी छन् । 

Sponsored

‘प्रधानमन्त्रीको आदेशमा फसाउन हाम्रै कारणले हत्या भएको भनेर सरकारी वकिलको कार्यालयबाट मुद्दा दर्ता भएको छ,’ सह-ईन्चार्ज नगेन्द्र चौधरीले भने, ‘खास व्यक्तिलाई जोगाउन न्याय नमरोस् भन्ने देखाउन यो नाटक डिजाइन गरिएको हो ।’ तर पार्टी एकीकरणपछि प्रदेश २ मा नेकपामा चर्किएको विवाद यो पहिलो होइन् ।

जिम्मेवारी बाँडफाडको क्रममा प्रदेश कमिटी चयनकै क्रममा नेकपाभित्र चुलिएको विवाद यतिखेर हिंस्रक मोडमा पुगेको नेकपा नेताहरू बताउँछन् ।

केन्द्रको सिधा हस्तक्षेपले प्रदेश कमिटीको विवाद तत्कालका लागि साम्य भएपनि गुटउपगुटको राजनीतिले नेकपाभित्र प्रदेशमा बारम्बार विवाद हुँदै आएको छ । ३ भदौ २०७६ मा नेकपा अध्यक्ष प्रभू साहले अध्यक्ष दाहाललाई राजीनामा बुझाएपछि नेकपाभित्र तरंगै उत्पन्न भयो । 

घेराबन्दीमा परेको र पार्टीको पद्धतिअनुरूप काम गर्न नपाएको भन्दै साहले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । तर, पार्टी सचिवालयले उनको राजीनामा स्वीकृत गरेन । वरिष्ठ नेता माधव नेपाल र पार्टीका नेता मातृका यादव मिलेर घेराबन्दी गरेको, कामै गर्न नदिएको उनको बुझाई थियो । तर, त्यसपछि जिल्ला कमिटी गठनको क्रममा चर्किएको विवाद हात हालाहालकै स्थितिमा पुग्यो ।

२४ भदौ २०७६ मा महोत्तरीको बर्दिबासमा आयोजित ६ जिल्ला रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीसहित ६ जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा दुई पक्षका नेकपा नेताहरुबीच भएको झडपको क्रममा करिब आधा दर्जन नेता घाइते भए ।

कुर्सी फालाफाल र तोडफोडबाट सुरु भएको झडपमा प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि नै हातपातको प्रयास भयो । झडपको क्रममा प्रदेश कमिटीका सदस्य देवनाथ यादवको टाउको नै फुट्यो । त्यसबेला अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले एकलौटी ढङ्गले जिल्ला कमिटी निर्माण गरेको भन्दै माधवकुमार नेपाल पक्षले आपत्ति प्रकट गरेपछि शपथ ग्रहण कार्यक्रम झडपमा परिणत भएको थियो ।

झडपका बाबजुद सिरहा र सप्तरीका केही पदाधिकारीलाई सपथ ग्रहण गराइएको थियो भने उपस्थित नभएका बाँकी पदाधिकारीलाई पछि सपथ गराइने मञ्चबाट उदघोष गरियो । तर त्यसो भनिएको एक वर्षबढी भइसक्दा छुटेका पदाधिकारी मात्र नभई रौतहट, महोत्तरी र धनुषाको सपथ ग्रहण समेत हुन सकेको छैन् । तर सपथ ग्रहण भइसकेका जिल्लाहरूमा समेत विवाद भने कायमै छ । ‘सपथ ग्रहण भइसक्यो भन्दैमा हाम्रोतिर विवादै छैन भन्ने होइन् । केन्द्रमा जस्तै हाम्रो जिल्लामा पनि पार्टी भित्रको विवाद उतकर्षमै छ,’ पर्साका नेकपा ईञ्चार्ज रामचन्द्र साहले भने । तर, विवाद जिल्ला र प्रदेश स्तरका पदाधिकारीमा मात्र छैन् । 

प्रदेश २ संसदीय दलभित्रको विवादले नेकपाकै भागमा परेको सार्वजनिक लेखा समितिको सभापति पद अहिले रितै छ । प्रदेश संसदअन्तर्गतका नेकपाको भागमा परेका दुईवटा संसदीय समितिमध्ये प्राकृतिक स्रोतसाधन समितिको नेतृत्व चयन भए पनि सार्वजनिक लेखा समितिको सभापति भने अझै चयन हुन सकेको छैन । 

प्राकृतिक स्रोत साधनमा सर्वसम्मत निर्णय गरी नेतृत्व चयन भइसकेपनि सार्वजनिक लेखा समितिमा माधव नेपाल निकट मानिने शत्रुधन महतोले बागी उम्मेदवारी दिएपछि पार्टीको भागमा परेको उक्त समिति करिब दुई वर्षदेखि नेतृत्वविहीन अवस्थामा छ । यसकासाथै प्रदेश अध्यक्ष समेत रहेका संसदीय दलका नेता सत्यनरायण मण्डलले एकलौटी निर्णय गरिरहेको सांसदहरुको गुनासो छ । 

प्रदेश २ मा विवादको कारण के ? 

केन्द्रीय नेताहरूले आआफ्नो स्वार्थका लागि फरक विचारको दुई पार्टीबीच एकता घोषणा गरे पनि ग्राउण्ड लेभलका नेता कार्यकर्ताबीच भावनात्मक एकता हुन नसकेको र त्यसकै परिणामका स्वरुप नेता कार्यकर्तामा देखिएको आक्रोश पछिल्लो समय पोखिदै गएको जानकार बताउँछन् । दुवै पार्टीबीचको गुटउपगुट व्यवस्थापन नभए यी विवादहरू अझै बढ्ने उनीहरूको आंकलन छ । 

खासगरी प्रदेश २ मा तत्कालीन एमाले र माओवादी भित्रै मुख्य दुई/दुई गुट थिए । एमालेभित्र माधव नेपाल समूहका शत्रुधन महतो र ओली समूहका सत्यनरायण मण्डल, रघुवीर महासेठ लगायतका गुट थियो भने माओवादीमा नरायणकाजी श्रेष्ठ निकट प्रभु साह, प्रचण्ड निकट मात्रिका यादव लगायतको गुट थियो । त्यसभित्र समेत अवसरको क्रममा विभिन्न उपगुटहरू बनेका छन् । 

सत्ता र अवसरका लागि गरिएको एकीकरण धेरै दिन नटिक्ने हुँदा पछिल्लो समय नेकपामा देखिएको विवाद त्यसकै उपज रहेको कम्युनिष्ट विचारक रोशन जनकपुरी बताउँछन् । ‘कार्यकर्तालाई भावनात्मक भ्रममा राख्न यो एकता भयो । दुई गुट थियो । तर त्यसभित्र समेत विभिन्न उपगुट थियो । त्यो अझै बढ्दै गयो,’ उनले भने, ‘प्रचण्ड, नेपाल र ओलीकाबीच चलिरहेको अन्तसंघर्ष वैचारिक संघर्ष छँदैछैन् । यो अवसरको छिनाझम्टी हो ।’  

प्रदेश २ मा ओली पक्ष र केही गुटगत नेताले स्थायी समितिले गरेको निर्णय अनुसार जारी भएको अन्तरपार्टी निर्देशण सर्कुलर नमान्दा जिम्मेवारी बाँडफाड तथा सपथ ग्रहणमा विवाद भएको प्रदेश सहईञ्चार्ज चौधरी बताउँछन् । 

‘जुन योग्यता र क्षमताका नेताहरुलाई संगठनात्मक जिम्मेवारीमा ल्याउनुपर्ने त्यस्तो नगरी प्रदेश र जिल्ला कमिटीमा अयोग्य मान्छेहरू राखियो । त्यसपछि त्यसमुनिका कमिटीमा  त्यस्तै भयो । जहाँ जहाँ सर्कुलर मानिएन त्यहाँ यसरी नै विवाद हुँदै गयो,’ उनले थपे ।

प्रदेश २ का प्रभावशाली नेताहरु रघुवीर महासेठ, मात्रिका यादव, प्रभू साह, सत्यनरायण मण्डल लगायतले आफ्ना लबीको नेतालाई नेतृत्वदायी भूमिका तथा जिम्मेवारीमा राख्न तँछाडमछाड गरेका कारण समेत पार्टीभित्र विवाद चर्किएको नेकपाका नेताहरु बताउँछन् । 

नेकपा धनुषाका ईञ्चार्ज श्रवण बरबरियाले रघुवीर महासेठ र प्रभू साहले बढी हस्तक्षेप गर्दा धनुषामा सपथ ग्रहण कार्यक्रम सम्पन्न हुन नसकेको दाबी गरे । यस्तै महोत्तरीमा पूर्वमाओवादी र पूर्वएमालेमा ओली पक्षका नेताबीच टकराबका कारण त्यहाँ सपथ ग्रहण हुन सकेको छैन् भने रौतहटमा माधव नेपाल र प्रभू साहबीचको अन्तरद्वन्द्वले सपथग्रहण हुन नसकेको बताइन्छ । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *