सप्तरीमा कोरोना संक्रमणबाट शिक्षक सहित थप दुई जनाको मृत्यु
शुभ नारायण यादव
सप्तरी, कार्तिक १८ गते ।
सप्तरीमा थप दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
हनुमाननगर कंकालीनी नगरपालिका–१ बस्ने ५८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनका अनुसार मृतक शिक्षक थिए ।
मोरङ्ग जिल्ला स्थित शिक्षण पेशामा संलग्न रहेका उनलार्ई ज्वरोपछि टाउको दुख्दा विराटनगर स्थित बिराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि १५ गते बिराटनगरमै न्यूरो अस्पतालमा रेफर गरिएको र त्यही उपचारको क्रममा सोमबार मृत्यु भएको उनले जनाए ।
लामो समयदेखि सुगर, ब्लडप्रेसरबाट पीडित उनलाई मिर्गौलामा असर भएका कारण अस्पतालमा भर्ना गरिएको बताइएको छ । न्यरो अस्पतालले कार्डियोपल्मोनरी अरेष्ट (अघात) का कारण उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored
यसैगरी, धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफर ३० वर्षीय एक पुरुषको मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ६ निवासी पुरुषको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार बीपी अस्पतालको स्टाफ रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै आकस्मिक कक्षमा भर्नासँगै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
सोही अस्पतालको कोभिड कक्षमा थप उपचारको लागि व्यवस्था गर्दै गर्दा उनको मृत्यु भएको जनाइएको छ । मृतक दुबै जनाको शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको छ । सप्तरीमा कोरोनाका कारणले मृत्यु हुनेको सङ्ख्या २७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।