TodayPati

महोत्तरीमा एकैदिन थप ४ सञ्चारकर्मीमा कोरोना संक्रमण, संक्रमितको सङ्ख्या ८ पुग्यो

टुडेपाटी-

महोत्तरी, असोज २७ गते ।

महोत्तरीमा कोभिड- १९ संक्रमण पुष्टि भएका सञ्चारकर्मीको संख्या आठ पुगेको छ । आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि यो संख्या आठ पुगेको हो । यसअघि नै चार जनामा संक्रमण पुष्टि भएको थियो । 

Sponsored

आज संक्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निकेश खनाल, सरस्वती भुजेल, मनोज थापामगर र आशा तोलङ्गेले आफूमा कोभिड–१९ संक्रमण पुष्टि भएको बताए । चार दिनअघिदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा चारैजनामा संक्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी दिए । सम्बन्धित चारैजना आफैँले यसको पुष्टि गरेका छन् ।

यसअघि राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पीसीआर परीक्षणबाट कोभिड–१९ संक्रमण पुष्टि भएपछि अहिले ‘होमआइसोलेसन’मा छन् । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार संक्रमण पुष्टि भएको हो । यसैगरी, अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो ।

यद्यपि, महतो र मण्डल दुवै संक्रमणमुक्त भइसकेका छन् । महतोमा असोज–१० गते र मण्डलमा गत भदौमै स्वाब परीक्षणबाट संक्रमण पुष्टि भएको थियो । जिल्लाका यी सबै सञ्चारकर्मीले बर्दिवास अस्पतालमा स्वाब परीक्षणका लागि दिएको हो ।

Sponsored

महोत्तरीमा पछिल्लोपटक एकजना नगरप्रमुखमा पनि कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा  सोमबार अबेर राति कोभिड–१९ संक्रमण पुष्टि भएको हो । नगरप्रमुख साह आफैँले सोमबार अबेर राति आफ्नो पीसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका हुन् । महोत्तरीमा हालसम्म एक हजार ६०३ मा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यहाँ १५ जनाको कोभिड–१९ संक्रमणले ज्यान गएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *