TodayPati

जब कठोर नेता किम जोङ–उन मञ्चमै रोए…

एजेन्सी-

जनकपुरधाम, असोज २७ गते ।

खासगरी हतियारसँग जोडिएका आफ्ना निर्णयका कारण कठोर नेताको पहिचान बनाएका उत्तर कोरियाली नेता किम जोङ–उन शनिबार भएको सैनिक परेडका क्रममा भाषण गर्दा भावुक भए । किमलाई भावुक बनेको देखिएको सम्भवतः यो पहिलो पटक हो । 

Sponsored

आफ्नो भाषणमा उनले बलिदान दिने सैनिकलाई धन्यवाद दिए । उनले उत्तर कोरियाली जनताको जीवनस्तर अझै राम्रो बनाउन नसकेकोमा माफीसमेत मागेका छन् ।

रोयटर्सका अनुसार किम जोङ–उनले आफ्नो पार्टीको ७५औं वर्षगाँठको अवसरमा सम्बोधन गर्दै विनाशकारी तुफान र कोरोना भाइरसको महामारीको प्रसार रोक्न महत्त्वपूर्ण भूमिका खेलेकोमा सेनालाई धन्यवाद दिए । 

राज्यको टेलिभिजनले एक फुटेज प्रसारण गरेको छ । सम्पादन गरिएको सो भिडियोमा किम आँखामा आँसु पुछिरहेको देखिएको छ । एक समयमा त उनको गला अवरुद्ध नै भएको थियो । 

Sponsored

‘उत्तर कोरियामा एक जना पनि कोरोना संक्रमित भएका छैनन्, म आभारी छु,’ उनले भने । यद्यपि दक्षिण कोरिया र अमेरिकाले उनको दाबीमाथि शंका गर्दै आएका छन् । 

‘कोरोना रोकथामको उपाय, अमेरिकी प्रतिबन्ध र केही तुफानका कारण हामी जनताको जीवनस्तर जुन अवस्थामा पुर्‍याउन चाहन्थ्यौँ, त्यसलाई पूरा गर्न सकेनौँ,’ गला अवरुद्ध पार्दै उनले भने, ‘मेरो प्रयास र यस सम्बन्धमा मेरो सोच हाम्रा जनताको कठिन जीवनबाट छुटकारा दिलाउनका लागि पर्याप्त छैन । यसका बाबजुद पनि हाम्रा जनताले मेरा हरेक कदम, निर्णय र संकल्पलाई समर्थन गरे ।’

परमाणु हतियार र ब्यालिस्टिक मिसाइल कार्यक्रमका कारण उत्तर कोरियामाथि लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको छ । जसको सिधा असर त्यहाँको अर्थव्यवस्थामा देखिएको छ । 

यसका साथै कोरोना नियन्त्रणका लागि गरिएको कडा लकडाउनका कारण त्यहाँको अर्थतन्त्रमा ठूलो असर परेको छ । संयुक्त राष्ट्रसंघले त्यहाँका करिब ४० प्रतिशत मानिसले खानाको अभावको सामना गर्नुपर्ने उल्लेख गरेको छ । 

उत्तर कोरियाली नेता किम मञ्चमा भावुक हुँदा दर्शकदीर्घामा बसेका मानिसहरुको आँखामा समेत आँसु देखिएको थियो । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *