थापाथलीमा एक महिलाले ५ शिशु जन्माइन्, १ को मृत्यु, चार जीवित
टुडेपाटी-
काठमाडौं, असोज १९ गते ।
थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन् । सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिएका छन् ।
पाँचमध्ये चार जना जीवित रहेको र १ जना भने जन्मनुअघि नै मृत्यु भइसकेको उनले बताए । सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बिहान मृतसहित ५ शिशुको जन्म भएको हो । अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको डा. सुवेदीको भनाइ छ ।
जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा. मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।
Sponsored